काठमाडौं । तिहारलाई झिलिमिली, फूल तथा रंगको पर्वको रुपमा लिइन्छ । तिहारमा विशेष रंगोली बनाउन रंगको प्रयोग गर्ने गरिन्छ । तिहारमा लक्ष्मी पूजा र भाइटिकाको दिन विशेष गरी ७ रंगको प्रयोग हुने गर्छ ।
तिहारमा रंगोली बनाउने संस्कार भारतीय संस्कारबाट भित्रिएको हो । पछिल्लो समय हरेक घरमा रंगोली बनाउने भएकाले रंगको प्रयोग बढ्दो देखिन्छ । रंगको प्रयोग बढेसँगै आयात पनि ह्वातै बढेको छ ।
चालू आर्थिक वर्षको भदौ महिनासम्ममा ७३ करोड ९२ लाख रुपैयाँको रंग आयात भएको भनसारको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५/७६ मा कुल ३ अर्ब १ करोड रुपैयाँ बराबरको रंग आयात भएको थियो ।
आर्थिक वर्ष २०७४/७५ मा कुल १ अर्ब ५० करोड ८० लाख रुपैयाँ बराबरको रंग आयात भएको थियो । सो अवधिमा ५ अर्ब ९५ करोड ६६ लाख केजी रंग आयात भएको थियो ।
यस्तै आर्थिक वर्ष २०७३/७४ सालमा १ अर्ब ४६ करोड ७२ लाख रुपैयाँ बराबरको रंग आयात भएको थियो । सो अवधिमा ५ अर्ब ८३ करोड ४६ लाख केजी रंग आयात भएको थियो ।

प्रत्येक वर्ष रंगको आयात बढ्दो क्रममा रहेको छ । नेपालमा प्रत्येक चाडपर्वमा रंगको आवश्यक पर्ने र अबिर तथा केसरी दैनिक पूजापाठमा प्रयोग हुने भएकाले धेरै आयात हुने गरेको छ ।
रंगको सांस्कृतीक महत्व
रातो रंगः रातो रंगलाई हिन्दू मान्यताले शक्ति र सौभाग्यको सूचक मानिन्छ । हिन्दू नारीहरूको श्रृंगारमा रातो रंगले विशेष प्राथमिकता पाएको छ । रातो रंगलाई शुद्धता एवं पवित्रताको प्रतीकसमेत मानिन्छ । त्यसैले हरेक धार्मिक कार्यमा रातो रंग प्रयोग गरिन्छ । स्वच्छ, सफा र चित्तशुद्धीको प्रतीकका अतिरिक्त रातो रंग साहस र प्रेमको प्रतीक समेत हो ।
पहेँलो रंगः हिन्दू धर्मले पहेँलोे रंगलाई भक्ति र धर्म परायणताका रुपमा लिइन्छ । यो रंग मन पराउने मानिसहरू धर्मकर्मप्रति बढी विश्वास गर्छन् । यही कारणले फागु पर्वमा पहेँलो रंगको प्रयोगलाई विशेष मानिएको छ । यो रंगको सम्बन्ध खुशी र हर्षसँग पनि छ । मनोविज्ञहरूका अनुसार पहेँलो रंग मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्ने स्वभावका हुन्छन् ।
हरियो रंगः हिन्दू धर्मशास्त्रले हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । यो रंगलाई जीवनशक्तिको आन्तरिक मर्म बुझ्ने जीवित रंग पनि भनिन्छ । हरियो रंग मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने स्वभावका हुन्छन् । उनीहरू आत्मविश्वासले भरिपूर्ण मानिन्छन् ।
नीलो रंगः नीलो रंगलाई हिन्दू धर्मशास्त्रले धर्मयुद्धको रंगको प्रतीक मानिन्छ । त्यसैले हिन्दू कथाहरूमा निलो वर्णका श्री विष्णुले अधर्मको नाश गर्न र धर्मको रक्षा गर्न हरेक युगमा अवतार लिँदै आएका छन् ।
निलो रंगलाई शक्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ । त्यसैले पनि यो रंगको प्रयोग बढी हुन्छ ।
सेतो रंगः सेतो रंगलाई हिन्दू धर्मले शुद्धताको प्रतीक मान्छ । सेतो रंग बिना अरु रंगको अस्तित्वको कल्पना हिन्दू धर्मशास्त्रले गरेको छैन् । यो रंगमै अरु सबै रंग आफ्नो स्वभावअनुरुप खुल्छन् । चहकिलो सेतो रंगलाई सरसफाइ र शुद्धताको प्रतीकका रूपमा लिइन्छ ।
कालो रंगः कालो रंगलाई ईर्ष्या र स्वार्थसँग गाँसिएको छ । यो रंग अन्धकारको प्रतीक पनि हो । यो रंगको प्रयोग बिना अन्य रंगको कुनै अर्थ नहुने कुरा धर्मशास्त्रहरूमा उल्लेख छ ।