फलफूलको मूल्य आकाशियो, किलोमै १४० सम्म बढ्यो

काठमाडौं । विशेष गरी चाडपर्वमा फलफूलको मूल्य बढ्ने नेपाली बजारको परम्परागत नियम जस्तै बन्ने गरेको छ । फलफूलको मागसँगै त्यसको फाइदा उठाएर व्यवसायीहरुले अनियमीत रुपमा मूल्य बढाएर विक्री गर्ने गरेको पाइन्छ । यो पटक दशैँमाभन्दा तिहारमा फलफूलको मूल्य चुलिएको देखिन्छ । तिहारमा फलफूलको माग बढेसँगै त्यसको मूल्य बढेको हो ।

 

यो तिहारमा फलफूलको मूल्यमा १ सय ४० रुपैयाँसम्म वृद्धि भएको कालिमाटी बजारको तथ्यांकले देखाएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा स्याउको थोक मूल्यमा गत वर्षको तुलनामा ३० रुपैयाँ वृद्धि भएको छ ।

 

थोक बजारमा प्रतिकेजी स्याउ १ सय ४५ रुपैयाँमा विक्री भइरहेको छ । खुद्रा बजारमा उक्त स्याउ १ सय ९० रुपैयाँसम्ममा विक्री भइरहेको छ ।गत वर्ष कात्तिकमा स्याउको थोक मूल्य १ सय १५ रुपैयाँ रहेको थियो भने खुद्रा बजारमा सो स्याउ १ सय २५ रुपैयाँसम्ममा विक्री भइरहेको कालिमाटीको तथ्यांकले देखाउँछ । कालिमाटी बजार बाहिर विक्री गर्ने व्यवसायीहरुले स्याउ १ सय ४० रुपैयाँसम्ममा विक्री गरिरहेको पाइन्छ ।

थोक बजारमा केराको मूल्यमा केही फरक नआए पनि खुद्रा बजारमा केरा १ सय ५ रुपैयाँसम्ममा विक्री भइरहेको कालिमाटी फलफूल व्यवसायी बताउँछन् ।

 

सुन्तालाको मूल्य गत वर्षको तुलनामा १ सय ४० रुपैयाँले बढेको छ । गत वर्ष कालिमाटीमा खुद्रा बजारमा सुन्तला ९५ रुपैयाँ प्रतिकेजीसम्ममा विक्री भइरहेको थियो । यो तिहारमा सुन्तलाको मूल्य कालिमाटी खुद्रा बजारमा प्रतिकेजी २ सय ३५ रुपैयाँ पुगेको छ ।

 

आर्थिक वर्ष २०७५ / २०७६ को तथ्याङ्क हेर्दा १३ अर्ब २८ करोड ४९ लाखको फलफूल विदेशबाट आयत भएको छ ।सरकारले फलफूलमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रम ल्याउने गरे पनि आयत भने कम गर्न सकिएको छैन ।

मौसमको मूल्य कालिमाटी थोक बजारमा ५० रुपैयाँसम्मले बढेको छ । गत वर्ष यही समयमा मौसमको मूल्य ९५ रुपैयाँ रहेको थियो भने हाल १ सय ४५ रुपैयाँ प्रतिकेजी पुगेको छ । खुद्रा बजारमा मौसमको मूल्यमा ७५ रुपैयाँ बढेको छ । गत वर्ष १ सय १५ रुपैयाँ प्रतिकेजी मौसम आजको समयमा खुद्रा बजारमा १ सय ९० रुपैयाँ पुगेको छ ।

 

अनारको थोक मूल्यमा प्रतिकेजी ७० रुपैयाँ वृद्धि भएको छ । गत वर्ष कार्तिकमा अनार प्रतिकेजी १ सय ७५ रुपैयाँमा विक्री भइरहेको थियो । कालिमाटीमा पटक कार्तिकमा अनारको थोक मूल्य प्रतिकेजी २ सय ४५ रुपैयाँ रहेको छ ।

यस्तै खुद्रा बजारमा अनार ३ सय ४५ रुपैयाँसम्ममा विक्री भइरहेको छ । गत वर्ष कार्तिकमा अनार प्रतिकेजी २ सय १० रुपैयाँमा विक्री भइरहेको थियो भने आज आइपुग्दा अनारको मूल्यमा प्रतिकेजी ३ सय ४५ पुगेको कासलिमाटी बजारका व्यवसायीहरु बताउँछन् ।

 

तरबुजाको मूल्यमा खासै धेरै परिवर्तन भएको छैन । भुँइकटरको मूल्य थोक बजारमा केही फरक नआए पनि खुद्रा बजारमा भने १० रुपैयाँ वृद्धि हुन आएको छ । काँक्रो कालिमाटी बजारको थोक मूल्यमा ३१ रुपैयाँ प्रतिकेजी वृद्धि भएको छ । गत वर्ष कार्तिकमा ४७ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको काँक्रो यो पटक ७८ रुपैयाँ पुगेको छ । खुद्रा बजारमा गत कार्तिकमा ६५ रुपैयाँ प्रतिकेजी भए पनि यो पटक १ सय ५ रुपैयाँ पुगेको छ ।

 

चालू आर्थिक वर्षको भदौ महिनासम्ममा २ अर्ब ८६ करोड १२ लाख रुपैयाँ बराबरका फलफूलहरु आयात भएको भन्सार विभागले जनाएको छ ।

 

चालू आवको २ महिनामा स्याउ १ अर्ब ९ करोड ८२ लाख रुपैयाँको आयात भएको छ । सो अवधिमा २३ करोड ७० लाख रुपैयाँ बराबरको केरा आयात भएको छ । भदौ मसान्तसम्म २५ लाख ९७ हजार रुपैयाँ बराबरको सुन्तला आयात भएको तथ्यांकले देखाएको छ ।

 

आर्थिक वर्ष २०७५ / २०७६ को तथ्याङ्क हेर्दा १३ अर्ब २८ करोड ४९ लाखको फलफूल विदेशबाट आयत भएको छ ।सरकारले फलफूलमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रम ल्याउने गरे पनि आयत भने कम गर्न सकिएको छैन ।

 

हाल हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा, मुस्ताङ लगायतका जिल्लामा स्याउ खेती भइरहेको छ । नेपालमा स्याउ उत्पादन हुने गरेपनि त्यसको बजार विस्तार गर्न नसक्दा अझै पनि स्याउमा आत्मनिर्भर हुन सकेको छैन ।

आज तिहारको चौथो दिन : गाई-गोरुको पूजा गरिँदै Read Previous

आज तिहारको चौथो दिन : गाई-गोरुको पूजा गरिँदै

रंग आयात वर्षेनी बढ्दो, दुई महिनामै ७३ करोडको आयात Read Next

रंग आयात वर्षेनी बढ्दो, दुई महिनामै ७३ करोडको आयात