काठमाडौं । काभ्रेपलाञ्चोकस्थित ढुङ्खर्क–च्याम्राबेंसी सुरुङमार्गको प्राविधिक अध्ययनको जिम्मा बेथानचोक गाउँपालिकाले काठमाडौँ विश्वविद्यालयलाई दिएको छ ।
काठमाडौँ विश्वविद्यालयको प्राङ्गणमा एक कार्यक्रममा दुवै निकायबीच तीनबुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सुरुङमार्गले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ र ४ वडा जोड्नेछ ।
सम्झौताअनुसार काठमाडौँ विश्वविद्यालयले सुरुङमार्गस्थलको वातावरणीय प्रभाव, भौगर्भिक अवस्था, टनेलको सम्भावित डिजाइन र अनुमानित लगानीसमेतको अध्ययन गरी गाउँपालिकालाई प्रतिवेदन पेस गर्नेछ ।
सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट उपकुलपति भोला थापा र गाउँपालिकाको तर्फबाट अध्यक्ष भगवान अधिकारीले हस्ताक्षर गरे । समझदारीपत्रमा प्रारम्भिक प्राविधिक अध्ययन गर्ने विषय उल्लेख गरिएको छ ।
सुरुङको लम्बाइ १ देखि १.५ किलोमिटरसम्म हुने अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष अधिकारीले बताए । सुरुङमार्ग निर्माणका लागि गाउँपालिकाले रु १० लाख विनियोजन गरेको समेत अध्यक्ष अधिकारीले जानकारी दिए। बेथानचोक-४ को सेती भिरमा समय समयम गइरहने सुक्खा पहिरोबाट हुने सडक बन्दको दिगो समाधानका लागि सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।
सो अवसरमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति थापाले समृद्ध मुलुक निर्माणकै लागि विश्वविद्यालय स्थानीय निकायसँग सहकार्य गरी काम गर्न तयार रहेको जनाए। सुरुङमार्ग विश्वविद्यालयका लागि जीवन्त प्रयोगशाला हुने बताउँदै तीव्र गतिमा प्रभावकारी अध्ययन गर्न इञ्जिनीयरलाई निर्देशन दिए।