उपत्यका प्रवेश गर्ने मुख्य दुई सडक विस्तार धमाधम, १११ किमी ४ लेनको बनाइँदै

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य दुई सडक ४ लेनमा विस्तारको काम सुरू भएकोे छ । बढ्दो सवारी चाप र जामलाई मध्येनजर गर्दै सरकारले १११.५ किलोमिटर सडक ४ लेनको बनाउन लागेको हो ।

उपत्यका प्रवेश गर्ने मुख्य पूर्वी नाका अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म १५.५ किलोमिट सडक ४ लेनको बनाउन सुरू भएको छ । ३ वर्षभित्र सम्पन्न गर्ने गरी उक्त सडक विस्तार यसैसातादेखि काभ्रेको साँगाबाट निर्माण सुरू भएको हो ।

त्यस्तै, काठमाडौं प्रवेश गर्ने देशकै मुख्य सडक पृथ्वी राजमार्ग अन्तर्गत काठमाडौंको नागढुंगादेखि चितवनको मुग्लिनसम्मको ९६ किलोमिटर सडक ४ लेनमा विस्तारको काम भइरहेको छ । यस सडकखण्डलाई ३ खण्डमा विभाजन गरी विगत ३ महिनादेखि निर्माणको काम भइरहेको छ ।

सूर्यविनायक–धुलिखेल सडक सरकारले आफ्नै लगानी –आन्तरिक स्रोत)मा विस्तार सुरू गरेको हो भने नागढुंगा–मुग्लिन सडक एशियाली विकास बैंकको ऋण सहयोग र सरकारको लगानीमा विस्तार भइरहेको हो ।

दुवै सडक विस्तारका लागि कुल १९ अर्ब ३८ करोडमा ठेक्का लगाइएको छ । नागढुंगा–मुग्लिन सडक विस्तारका लागि कुल ११ अर्ब ४४ करोडमा ठेक्का लगाइएको छ ।

त्यस्तै, सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्न ७ अर्ब ९३ करोड रुपैयाँमा ठेक्का लगाइएको छ । यी सडकमा निर्माण हुने पुलका लागि पछि ठेक्का लगाइने सडक विभागले जनाएको छ ।

नागढुंगा-मुग्लिन सडकको ३ खण्डमा काम हुँदै

९६ किलोमिटर लम्बाइ रहेको नागढुंगा–मुग्लिन सडक ३ खण्डमा ठेक्का लगाइ विस्तारको काम धमाधम भइरहेको छ । नागढुंगा–नौबिसे १२.६२ किलोमिटर, नौबिसे–मलेखु ४३.५२ किलोमिटर र मलेखु–मुग्लिन ४० किलोमिटरमा विभाजन गरी विस्तारको काम भइरहेको हो ।

सडक विभागका अनुसार पहिलो खण्ड नागढुंगा–नौबिसे सडक खण्डमा भित्तो कटान र वाल लगाउने काम भइरहेको छ । सो खण्डमा हालको सडकमा सवारी आवगमन नरोकिने गरी छेर र भित्तोमा काम भइरहेको छ । १२.६२ किमी रहेको यस सडकखण्ड विस्तारको ठेक्का एमरएस जियाङसु–सगुन जेभीले पाएको छ । सगुन जेभीले १ अर्ब ३१ करोड ८४ लाख रुपैयाँमा ठेक्का पाएको हो ।

त्यसैगरी, दोस्रोखण्ड अन्तर्गत नौबिसे–मलेखु ४३.५४ सडकमा पनि काम भइरहेको छ । यस सडकको पनि भित्तो कटान, रिटेनिङ वाल लगाउने लगायत काम भइरहेको छ । यस खण्डको ठेक्का शर्मा–लामा–जेडआइसीजी जेभीले पाएको छ । यो खण्ड ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँमा लागतमा ठेक्का लगाइएको हो ।

त्यसैगरी, तेस्रो खण्ड (मलेखु–मुग्लिन) ४० किलोमिटर सडक विस्तारको ठेक्का शर्मा–जेडआईसीजी जोइन्ट भेन्चर पाएको छ । जेभीले यस खण्डको ठेक्का ४ अर्ब ८० करोड रुपैयाँमा पाएको हो । यस खण्डमा पनि सुरूआति चरणका कामहरू भइरहेका छन् ।

विभागले गरेको डिजाइन अनुसार नागढुंगा–मुग्लिन खण्डमा २१ वटा ४ लेनका पुल निर्माण हुनेछ । हाल सञ्चालनमा रहेका पुल नभत्काई सडकको चौडाइ अनुसार नै छेउमा पुल निर्माण गरिने छ ।  नागढुंगा–नौबिसे खण्ड ३ लेनको हुनेछ । बस्ती तथा बजार भएका स्थानमा सडक ४ लेनको हुने छ । सडक विस्तारका क्रममा सर्भिस लेन निर्माण गरिने छ ।

सूर्यविनायक धुलिखेलको साँगाबाट काम सुरू

१५.५ किलोमिटर लामो यस सडकखण्डलाई दुई भागमा विभाजन काम सुरू गरिएको छ । भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै ठेक्का लगाइएको छ ।

यी दुवै सडकखण्डको काम ठेक्का सम्झौता भएको ३६ महिनाभित्र सक्नुपर्नेछ । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएकाले उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार सोमबारदेखि पहिलो चरणमा साँगा–धुलिखेल सडकखण्ड विस्तार कार्य सुरू गरिएको हो ।

उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्न थालिएको र विस्तार गरिने पहिलो खण्ड साँगादेखि धुलिखेल ८.४ किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ , यस सडकखण्ड विस्तारका लागि रु ४ अर्ब ५ करोड ६४ लाखमा ठेक्का लगाइएको हो । यस खण्डमा सोमबारदेखि वाल लगाउने काम सुरू भएको छ ।

यस्तै, सडक विस्तारका लागि राजमार्गको मापदण्डअनुसार हाल भवन तथा जग्गाको लगत सङ्कलन सुरू थालिएको हो । प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब १ अर्ब मुआब्जा दिनुपर्ने जनाइएको छ ।

दोस्रो खण्ड अन्तर्गत सूर्यविनायक–साँगा ७.५ किमी लामो सडक विस्तारको ठेक्का आशिष, कुमार श्रेष्ठ, बन्दन भगवती जेभीले पाएको छ । कम्पनीले उक्त सडक विस्तारको ठेक्का ३ अर्ब ८८ करोड ९३ लाख ९६ हजार रुपैयाँमा पाएको हो ।

सूर्यविनायकदेखि धुलिखेलसम्म निर्माण गर्नुपर्ने पुलका लागि भने छुटै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)मा केही परिवर्तन हुँदा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले रु १ अर्ब लाग्ने आयोजनाले अनुमान गरेको थियो । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०/२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएकोे छ । यसका लागि प्रतिमिटर रु १५ लाख लाग्ने अनुमान गरिएको थियो ।

उक्त डीपीआरअनुसार साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि सर्भिस लेन भने निर्माण गर्न नसकिने देखिएको अध्ययनमा जनाइएको छ ।

काभ्रेको बेथानचोकमा सुरुङ निर्माण हुने Read Previous

काभ्रेको बेथानचोकमा सुरुङ निर्माण हुने

लिबर्टी इनर्जीले पायो हकप्रद सेयर जारी गर्न अनुमति Read Next

लिबर्टी इनर्जीले पायो हकप्रद सेयर जारी गर्न अनुमति