अपर तामाकोशीले पायो १०० प्रतिशत हकप्रद जारी गर्न अनुमति

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।

विद्युत् नियमन आयोगको मंगलबार बसेको बैठकले कम्पनीलाई १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

तामाकोशीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँ दरले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता सेयर जारी गर्ने भएको हो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले हकप्रद सेयर जारी गर्न रेटिङ समेत गराइसकेको छ । कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर बीबी असाइन्ड’ रेटिङ दिएको हो । उक्त रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता मध्यम जोखिम रहेका जनाउँदछ ।

कम्पनीले हकप्रद सेयर जारी गर्नका लागि नागरिक लगानी कोषलाई विक्री प्रबन्धक र सनराइज क्यापिटललाई विक्री सह–प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

अब कम्पनीले हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाउनुपर्नेछ ।

लक्ष्मी लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Previous

लक्ष्मी लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

वर्षेनी ८०० मेगावाट बिजुली थपिने, ३ वर्षपछि सुख्खायाममा पनि आत्मनिर्भर Read Next

वर्षेनी ८०० मेगावाट बिजुली थपिने, ३ वर्षपछि सुख्खायाममा पनि आत्मनिर्भर