काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षेनी ८०० मेगावाट बिजुली उत्पादन थपिने बताएका छन् ।
मंगलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा निर्देशक घिसिङले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२५/२६ सम्म सुक्खा याममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने बताएका हुन्।
हाल नेपालको कुल जडित २४५० मेगावाट रहेको छ भने सन् २०२६ सम्म करिब ५ हजार मेगावाट पुग्ने प्राधिकरणको प्रक्षेपण छ । चालु वर्षको अन्त्यसम्म नेपालको कुल जडित क्षमता ३ हजार मेगावाट पुग्ने घिसिङले बताए ।
उनले सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताए । उनले नेपालको जलविद्युत उत्पादन क्षमता २५ सय ४४ मेगावट रहेको भन्दै पछिल्लो समय प्रत्येक वर्ष ८ सय मेगावाट विद्युत उत्पादन बढ्दै गएको बताए ।
निर्देशक घिसिङले सन् २०४२/४३ सम्ममा २० हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताए । उनले पछिल्लो समय उद्योगहरूमा जलविद्युतको माग राम्रो रहेको बताए । उनले ११ हजार मेगावट जलविद्युत उत्पादनको लागि पीपीएको लागि पाइपलाइनमा रहेका भन्दै करिब ७ हजार मेगावाटको पीपीए भइसकेको बताए
घिसिङले जलविद्युत उत्पादनको लागि १.२ मिलियन डलर लगानी प्रतिबद्धता भइसकेको बताए । उनले एजीम बैंकबाट ७ सय मिलियन,जाइकाले १४० मिलियन,विश्व बैंक र एडिबीले २ मिलियन लगानी प्रविद्धता आएको उल्लेख गरे । उनले जलविद्युत उत्पादनको लागि नयाँनयाँ प्रोजेक्टहरू बनाउन अहिले प्राप्त भएको लगानी प्रतिबद्धताले मात्रै अपुग हुने बताए ।