लाइसेन्स पाएका लघुबीमा कम्पनीले कहिलेदेखि सुरू गर्छन् व्यवसाय ?

काठमाडौं । बीमा प्राधिकरणले लघुबीमा कम्पनी मार्फत व्यवसाय अघि बढाउने तयारी गरेको छ । प्राधिकरणले लघुबीमा कम्पनी सञ्चालनको अनुमति पाएका कम्पनीहरूलाई चुक्ता पूँजी कायम गर्न भनेको हो ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरूलाई ४५ दिनभित्र पूँजी पुर्याउन निर्देशन दिएको बताए । ‘प्राधिकरणले छनोट भएका लघुबीमा कम्पनीहरूलाई विभिन्न मितिमा ४५ दिन भित्र चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ,’ उनले भने, ‘सबै कम्पनीले चुक्ता पूँजी कायम गरेपछि व्यवसाय सुरू गर्छन् । अझै समय लाग्छ ।’

लघुबीमा निर्देशिका २०७९ अनुसार लघुबीमा कम्पनीले ७५ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्नेछ । त्यसपछि सातै प्रदेशमा कम्पनीले व्यवसाय सुरू गर्ने अनुमति पाउने प्राधिकरणका अधिकारी बताउँछन् ।

प्राधिकरणले गत मंसिरमा ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा गरी ७ कम्पनीलाई लाइसेन्स दिएको थियो । लघुबीमा कम्पनी स्थापनाको लागि जीवनतर्फ गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफले अनुमति पाएका छन् । त्यसैगरी, निर्जीवनतर्फ ट्रष्ट माइक्रो, नेपाल माइक्रो, स्टार माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले अनुमति पाएका छन् ।

प्राधिकरणले गत भदौमा हरेक प्रदेशमा एउटा पाउने गरी ७ वटा लघुबीमा कम्पनीको लाइसेन्सका लागि आवेदन आह्वान गरेको थियो । जसमा १५ जीवन र १६ निर्जीवन गरी ३१ कम्पनीले आवेदन दिएका थिए । आवेदक कम्पनीहरूको मूल्यांकन गरी प्राधिकरणले हरेक प्रदेशमा १/१ वटा गरी ७ लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको थियो ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत लघुबीमा कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । सोही अनुसार बीमाको दायरा र पहुँच विस्तार गर्न भन्दै सरकारले नयाँ कम्पनीलाई लाइसेन्स वितरण गरेको प्राधिकरणको दाबी छ ।

प्राधिकरणले लघु जीवन र निर्जीवन बीमा कम्पनीको लागि ८ वटा लगानीका क्षेत्र तोकिदिएको छ । ग्रामीण क्षेत्रमा रहेको ठूलो हिस्सालाई बीमाको दायरामा ल्याउन प्राधिकरणले लघुबीमाको कम्पनी स्थापनाको आवश्यकता महशुस गरेको अधिकारी बताउँछन् । कृषि तथा पशुपालन क्षेत्रको ससानो व्यवसायको जोखिमलाई कम गर्न लघुबीमाको आवश्यकता रहेको प्राधिकरणको निष्कर्ष थियो ।

हाल लघुबीमा व्यवसाय सञ्चालनमा रहेका ठूला बीमा कम्पनीहरूले गर्दै आएका छन् । कम्पनीहरूले अनिवार्य १० प्रतिशत व्यवसाय गर्नुपर्ने भए पनि सो सीमा कसैले पूरा गर्न सकेका छैनन् ।

लघुबीमा कम्पनीले व्यवसाय सुरू गरे पनि उनीहरूको व्यवसाय भने नखोसिने पौडेलले बताए । ‘ठूला बीमा कम्पनीले केही हिस्सा अनिवार्य लघुबीमा गर्नुपर्ने व्यवस्था छ । तर, त्यसअनुसार गर्न सकेका छैनन् । अब लघुबीमा कम्पनीले नै व्यवसाय सुरू गरे पनि उनीहरूको व्यवसाय खोसिदैन,’ उनले भने ।

लघुबीमा व्यवसायको दायरा बढाउन नसकिएको उनले स्वीकारे । बीमा कम्पनीहरूले गर्ने कुल बीमा व्यवसाय मध्ये लघुबीमाको हिस्सा न्यून छ । ठूला कम्पनीहरू सहर केन्द्रीत हुँदा ग्रामीण क्षेत्रमा हुने कृषि लगायतका ससाना बीमाबाट सर्वसाधरण वञ्चित छन् भने अर्कोतर्फ प्राधिकरणले नियमनमा कडाइ गर्न सकेको छैन ।

ठूला बीमा कम्पनीले अनिवार्य लघुबीमा गर्नुपर्ने व्यवस्था कार्यन्वयन गराउन नसक्दा प्राधिकरणले लघुबीमा कम्पनी नै स्थापना गर्न लाइसेन्स वितरण गर्ने निर्णय गरेको थियो ।

सिटिजन्स बैंक र भारतको मेदान्त-द मेडिसिटी हस्पिटल बीच सम्झौता Read Previous

सिटिजन्स बैंक र भारतको मेदान्त-द मेडिसिटी हस्पिटल बीच सम्झौता

७ वर्षपछि जोरपाटी-सुन्दरीजल सडक विस्तार अन्तिम चरणमा Read Next

७ वर्षपछि जोरपाटी-सुन्दरीजल सडक विस्तार अन्तिम चरणमा