मदन भण्डारी राजमार्ग : धरान-झापा खण्डको ४०% काम सकियो, ३५ किमीको ठेक्का लाग्नै बाँकी

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको धरान–झापा सडकखण्डको ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका इञ्जिनीयर सजित शर्माका अनुसार शान्तिनगर–सर्दुखोलासम्मको १३१ किलोमिटर सडकमध्ये ९५.७८ किलोमिटरको ठेक्का लागिसक्यो छ । जसमध्ये हाल निर्माणाधीन अवस्थामा रहेको सडकको भौतिक प्रगति ४० प्रतिशत भएको उनले जानकारी दिए ।

उनले पाँच वटा निर्माण व्यवसायीले आयोजनासँग जिल्लागत ठेक्काको सम्झौता गरी काम गरिरहेको बताए। उनका अनुसार सो सडक खण्डअन्तर्गत सुनसरीमा १३ किमी, मोरङमा ३६ किमी, झापामा ३५.८ किमी र इलाममा १०.९८ किमी सडक निर्माणको काम भइरहेको छ ।

उनले पूर्वी प्रस्थान बिन्दु बाहुनडाँगीदेखि शान्तिनगरको १० किमी सडकको दुवै क्षेत्रमा ड्रेन निर्माणको काम लगभग सकिएको बताए । सो सडक खण्डको ठेक्का श्रेष्ठ मोतीदान ज्वाइन्ट भेञ्चरले एक वर्षअघि नै दुई वर्षमा निर्माण गर्ने गरी सम्झौता गरेको थियो ।

उनले तोकिएको मितिमा बाहुनडाँगी शान्तिनगर सडकखण्डको निर्माण सम्पन्न हुने बताए । धरान–झापा सडकखण्डमा बन्ने ३७ वटा पुल र १३१ किमी सडकका लागि सङ्घीय सरकारले रु १० अर्ब १३ करोड बजेट विनियोजन गरेको छ ।

सो सडक खण्डमा पर्ने पुल र सडकको निर्माणमा हालसम्म रु ४ अर्ब ८७ करोड खर्च भइसकेको उनले बताए । ‘सडकभन्दा पुल निर्माण छिटो भइरहेको छ,’ उनले भने, ‘अझै ३५.१३ किमी सडकको ठेक्का लाग्नै बाँकी छ ।’

सङ्घीय सरकारको बजेटबाट निर्माण हुने राजमार्ग दुई लेनको हुनेछ । यो राजमार्गले पूर्वको झापादेखि धरानको चतरा, उदयपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको तम्घास र सिमलटारी, प्यूठानको बागदुला, र देवीस्थान, दाङको घोराही, तुलसीपुर र पुरनधारा, सुर्खेतको बोटचौर, डोटीको सिमचौर र बिपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर र जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।

उनले यो सडक नेपालको पूर्वी सीमा मेची नदीदेखि चुरेभावर तथा भित्री मधेस छिचोल्दै पश्चिम महाकाली नदीसम्म करिब १ हजार २०० किमीको हुने बताए ।

यस वर्ष राजस्व संकलन ऋणात्मक, आर्थिक वृद्धि घट्ने Read Previous

यस वर्ष राजस्व संकलन ऋणात्मक, आर्थिक वृद्धि घट्ने

नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सकाे बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सकाे बोनस सेयर सूचीकृत