विकास निर्माणमा देखिएको बेथिती अन्त्य गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणको काममा भइरहेको ढिलाइप्रति सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।

राजधानीभित्रैको ललितपुरमा पूर्वाधार विकासमा भइरहेको लापर्बाहीबारेमा भौतिक पूर्वाधार तथा यातायात  मन्त्रालयको ध्यानाकर्षण गराउँदै सांसद डा तोसिमा कार्कीले स्थानीयवासी धुलो र हिलोमा बस्नुपरेकामा गुनासो गरिन्

सांसद नारायणी शर्माले दाङमा निर्माणाधीन हुलाकी राजमार्ग निर्माणमा देखिएको समस्या समाधान गर्न तथा निर्माणको कामलाई गति दिन आग्रह गरिन् ।

सांसद डा प्रकाशशरण महतले टोखा छहरे सडकखण्ड निर्माणमा देखिएको व्यवधान तथा ककनी रानीपौवा सडकखण्ड निर्माणमा निर्माण व्यवसायीले लापर्बाही गरेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रतिमा गौतमले काठमाडौँ उपत्यकाभित्रको खानेपानी समस्या समाधान गर्न र मेलम्चीको पानी प्रभावकारीरुपमा वितरण गर्न माग गरे । यस्तै, सांसद प्रदिप पौडेलले पनि काठमाडौँ उपत्यकाभित्रको खानेपानी समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

सांसद प्रकाश ज्वालाले सरकारले लामा लामा लाइन हटाउने योजना अगाडि सारेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको, सुशासन, जवाफदेहिता तथा सिंहदरबार प्रवेशमा सहजता नभएको भन्दै सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए ।

सांसद प्रकाशमान सिंहले करोडौँ मूल्य बराबरको पूराना सवारी साधन विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक स्थानमा अलपत्र रहेको भन्दै त्यसको व्यवस्थापनमा जोड दिन आग्रह गरे ।

सांसद प्रदीप यादवले सरकारी वेबसाइट घण्टौं अवरुद्ध हुँदा सेवाग्राहीले समस्या व्योहोर्नुपरेको भन्दै किन यस्तो भएको हो भनेर प्रश्न गरे ।

 

तीन देश जोड्ने कर्णाली करिडोर कालोपत्र गरिँदै, ५ वर्षमा सक्ने लक्ष्य Read Previous

तीन देश जोड्ने कर्णाली करिडोर कालोपत्र गरिँदै, ५ वर्षमा सक्ने लक्ष्य

सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल कति ? Read Next

सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल कति ?