काठमाडौं । तीन देश (भारत-नेपाल-चीन) जोड्ने लक्ष्यका साथ निर्माण थालिएको कर्णाली करिडोर कालोपत्र गरिने भएको छ । कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक कालोपत्र गर्न लागिएको हो ।
कर्णाली करिडोरको सो खण्डमा आगामी आर्थिक वर्षमा कालोपत्रको काम सुरू गरिने आयोजनाले जनाएको छ । कर्णाली करिडोर सडक निर्माणको काम सम्पन्न भइसकेको र स्तरोन्नति काम पूरा भएपछि सडक विभागले कालोपत्र गर्ने कामलाई अगाडि बढाएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्रकुमार यादवले बताए ।
‘खुलालु लैफु हुँदै सलीसल्लासम्मको सडकलाई कालोपत्र गर्ने कार्य थालनी भएको छ,’ उनले भने, ‘पहिलोपटक सडक कालोपत्र हुन लागेको हो ।’
कालोपत्रका लागि सडक विभागले डीपीआर तयार गर्ने कार्य पूरा भएको र आगामी आवमा सडक कालोपत्र गर्ने कार्य सुरु हुने आयोजना प्रमुख यादवले जानकारी दिए ।
‘कालोपत्र सडक दुई लेनको हुनेछ, डीपीआर चाँडै तयार हुने र त्यसपछि विभागले बजेटको व्यवस्था गरेलगत्तै काम सुरु हुनेछ,’ उनले भने, ‘बजेटको लागत अनुमान भइरहेको छ, आगामी आवमा बजेटको व्यवस्था भएर कालोपत्रको काम सुरु हुन्छ ।’
कालीकोटदेखि हुम्लाको सलिसल्ला खण्डको लम्बाइ १२२ किलोमिटर रहेको र कालोपत्र गर्न कम्तीमा ४ देखि ५ वर्ष लाग्ने प्रमुख यादवले बताए । कालोपत्र गर्न पूर्वका सडकलाई चौडा पार्ने, मोड सुधार गर्ने कार्य भइरहेको र यसका लागि ६ वटा निर्माण कम्पनीमार्फत काम भइरहेको यादवले जानकारी दिए । ‘रु ८ करोड लगानीमा अहिले सडक सुधारको काम भइरहेको छ,’ उनले भने।
कर्णाली करिडोर अन्तर्गत विकट हिमाली जिल्लामा मात्रै ४० किलोमिटर कालिकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र ११३ किलोमिटर हुम्ला खण्ड रहेको छ ।
अझै ट्रयाक खोल्न बाँकी
दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी देश चीन जोड्ने कर्णाली करिडोरको अझै करिब ८ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ । निर्माण सुरू गरिएको १० वर्ष बिते पनि भौगोलिक कठिनाइका कारण अझै ट्रयाक खोल्ने काम सम्पन्न हुन नसकेको हो
सुर्खेत-हुम्ला-हिल्सा-तिब्बत जोड्ने गरी ४९६ किलोमिटरको कर्णाली करिडोर निर्माण २०६९ सालदेखि सुरू गरिएको थियो । सोमध्ये हालसम्म ४८८ किलोमिटर ट्रयाक खोलिए पनि अझै ८ किलोमिटर ट्रयाक खोल्न बाँकी छ ।
आयोजनाका अनुसार चीनतर्फको सडक ट्रयाक खोलिसकिए पनि नेपालतर्फको खुलालु-सिमकोटखण्डको २८१ किलोमिटरमध्ये अझै ८ किलोमिटरको ट्रयाक खोल्न बाँकी रहेको छ ।
कर्णाली करिडोरले बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालीकोट, बाजुरा हुँदै हुम्लाको सिमकोटदेखि चीनको सीमा क्षेत्र हिल्सासम्म जोड्ने छ । अहिलेसम्म कर्णाली करिडोर निर्माणमा १ अर्ब ५ करोड ७७ लाख रुपैयाँ खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।