काठमाडौं । घरजग्गामा बैंक तथा वित्ती संस्थाले झन्डै ६ खर्ब कर्जा लगानी गरेका छन् । नेपाल राष्ट बैंकका अनुसार चालु वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले घरजग्गामा ५ खर्ब ७४ अर्ब रुपैयाँ लगानी गरेका हुन् ।
नेपाल राष्ट्र बैंको तथ्यांक अनुसार पछिल्लो साढे ७ वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाले घरजग्गा (रियल स्टेट र व्यक्तिगत आवासस) कर्जा दोब्बरले बढेको छ ।
आर्थिक वर्ष २०७२/७३ सम्म घरजग्गामा बैंक तथा वित्तीय संस्थाको कुल लगानी २ खर्ब ५० अर्ब रहेकोमा आव २०७९/८० को पुस मसान्तसम्म आइपुग्दा ३ खर्ब २३ अर्ब रुपैयाँले बढेर ५ खर्ब ७४ अर्ब पुगेको हो ।
हाल बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको ११.८४ प्रतिशत घरजग्गामा लगानी गरेका हुन् । हाल बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ ।
केही वर्ष यता घरजग्गाको कारोबारमा भइरहेको वृद्धि र आवास निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले सहजै कर्जा प्रवाह गर्दा लगानी दोब्बरले बढेको हो ।यद्यपि, चालु वर्षमा भने घरजग्गा कारोबार केही सुस्ताएको छ ।
अनुत्पादक क्षेत्र भनिए पनि लगानीको जोखिम न्यून तथा सहज व्यवसाय भएकाले बैंकहरूले घरजग्गा कारोबार गर्न कर्जा प्रवाह गर्ने गरेका छन् । घरजग्गा खरिद तथा निर्माणको लागि कर्जा दिन संस्थाहरू बीच होड नै चल्ने गरेको छ ।
सस्तो ब्याजदरमा विभिन्न अफरहरूसहित वित्तीय संस्थाहरूले अनियन्त्रित कर्जा प्रवाह गर्दा एकतिर अनुत्पादक क्षेत्रमा पूँजी बढ्दै गएको छ भने अर्कोतिर घरजग्गाको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
कोभिड अवधिमा अन्य क्षेत्रमा कर्जा माग नभएपछि बैंकहरूले घरजग्गामा आक्रामक लगानी गरेका थिए । जसको कारण जग्गाको मूल्य र कारोबार उच्च भएको थियो । त्यसयता वित्तीय प्रणालीमा तरलता अभाव कायम छ ।
यस क्षेत्रमा वित्तीय संस्थाको लगानी बढ्दै गएपछि राष्ट्र बैंकले गत वर्षदेखि कडाइ गर्दै आएको छ । कर्जाको जोखिम भार १०० प्रतिशतबाट बढाएर १५० प्रतिशत पुर्याएको छ । यस्तै, धितो मूल्यांकनको ५० प्रतिशभन्दा बढी कर्जा दिन नपाउने व्यवस्था गरेको छ ।
कुन बैंकको कति छ लगानी ?
वाणिज्य बैंकको मात्र घरजग्गामा कर्जा लगानी ४ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकहरूले १२ खर्ब ८३ अर्ब व्यक्तिगत घर कर्जा र १ खर्ब ९४ अर्ब रियल स्टेट शिर्षकमा कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै घरजग्गामा कर्जा लगानी गर्नेमा एनआइसी एसीया बैंक रहेको छ । यस बैंकले ६६ अर्ब रुपैयाँ ऋण रियल स्टेट र आवासमा दिएको छ ।
त्यस्तै, ग्लोबल आइएमई ४१ अर्ब, नबिल ३८, राष्ट्रिय वाणिज्यले ३६ अर्ब, इन्भेष्टमेन्ट मेगाा ३३ अर्ब, प्रभु २८ र एभरेष्ट बैंकले २७ अर्ब रुपैयाँ बढी कर्जा घरजग्गामा ऋण लगानी गरेका छन् ।
त्यसैगरी, एसबीआई बैंकले सबैभन्दा कम ७ अर्ब, माछापुच्छ्रे ८, कृषि विकास ९ अर्ब, हिमालयन र सिभिलले १०/१० अर्ब रुपैयाँ बढी घरजग्गामा कर्जा प्रवाह गेका छन् ।
सानिमा, लक्ष्मी, कुमारीले १२/१२ अर्ब बढी लगानी गरेका छन् भने सिटिजन १३ सिद्धार्थ १४, नेपाल बैंक १५, स्ट्यान्डर्ड चार्टर्ड १६, एनएमबी १८, सनराइज १९, प्राइम बैंकले २१ अर्ब रुपैयाँ कर्जा दिएका छन् ।