काठमाडौं । चालु आर्थिक वर्षको सात महिना(साउन– माघ)मसान्त सम्म नेपालको व्यापार घाटा ८ खर्ब २५ अर्ब पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा १८.७१ प्रतिशतले व्यापार घाटा घटेको हो ।
गत वर्षको माघ मसान्तसम्म १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबरको व्यापार घाटा रहेकोमा चालु वर्ष भने घटेर ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यस आवमा वैदेशिक व्यापारको हिस्सा पनि घटेको विभागले जनाएको छ ।
गत वर्षको सात महिनामा १२ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार रहेकोमा यस वर्ष २०.८४ प्रतिशतले घटेर १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँमा सिमित भएको छ ।
चालु वर्ष १९.९० प्रतिशतले आयात घटेको छ । विभागका अनुसार यस अवधिमा ९ खर्ब १९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा ११ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको सामान आयात गरिएको थियो ।
यस अवधिमा निर्यात २९.०३ प्रतिशतले घटेर ९३ अर्ब ४३ करोड रुपैयाँमा सिमित भएको छ । विदेशी विनिमय संचिति घटेको भन्दै सरकारले गत वैशाखदेखि कतिपय वस्तुको आयातमा कडाइ गरेको थियो । वस्तु आयातमा प्रतिबन्ध लगायपछि आयात पनि चालु आवको सुरुदेखि घट्दै आएको छ ।
सरकारले विनिमय संचिति सहज भएपछि गत पुसदेखि आयात प्रतिबन्ध हटाएको थियो । तर, बजारमा माग संकूचन हुँदा आयात वृद्धि नभएको तथ्यांकले देखाउँछ ।
नेपालले विदेशबाट आयात गरेर पाम तेल लगायतका वस्तुहरुको निर्यात गर्ने गरेको थियो । पाम तथा सोयाविन तेल निर्यात घट्दा समग्र व्यापारमा निर्यातको हिस्सा पनि घटेको हो ।
वित्तीय प्रणालीमा तरलता अभावका कारण उद्योग व्यवसायमा नयाँ लगानी थपिएको छैन भने ब्याजदर तथा मूल्यवृद्धिका कारण लागत बढ्दा सञ्चालनमा रहेका उद्योगहरु पूर्ण क्षमतामा चल्न सकेका छैनन् ।
आन्तरिक उत्पादन नबढ्दा निर्यातको हिस्सा घटेको व्यवसायीहरु बताउँछन् । नेपालको कुल वैदेशिक व्यापारमा आयातको अनुपात ९०.७७ प्रतिशत रहेको छ भने निर्यात ९.२३ प्रतिशत छ ।
बढ्दो व्यापार घाटाले अर्थतन्त्रमा चुनौती थपेको निष्कर्ष सहित राष्ट्र बैंक र सरकारले ब्याजदर वृद्धि तथा आयात प्रतिबन्धको उपकरण प्रयोग गर्दा राजस्वमा गिरावट आएको छ ।
भारतसँग मात्र ५ खर्ब व्यापार घाटा
नेपालको व्यापार घाटाको हिस्सा सबैभन्दा धेरै भारतसँग छ । पछिल्लो सात महिनामा भारतबाट नेपालले ५ खर्ब ७० अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने ६६ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यस अवधिमा नेपालले भारतसँग मात्र ५ खर्ब ४ अर्ब रुपैयाँ व्यापार घाटा बेहोरेको छ ।
चीनसँग नेपालको व्यापार घाटा १ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ । इन्डोनेसियासँग २६ अर्ब, अर्जेन्टिना १८ र युएईसँग २० अर्ब रुपैयाँ व्यापार घाटा बेहोरेको छ ।
यसअवधिमा नेपालको ११९ देशसँग व्यापार घाटा रहेको छ ।
यी हुन् सबैभन्दा धेरै आयात गरिएका वस्तु
माघ अन्तिमसम्म ९ खर्ब १९ अर्ब रुपैयाँ बराबरको वस्तु आयातबाट सरकारले २ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । यस अवधिमा सबैभन्दा धेरै ८४ अर्ब ६१ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ ।
यसवापत सरकारले २८ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । दोस्रोमा ३८ अर्ब ७३ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ । पेट्रोल आयातबाट सरकारले २१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।
खाना पकाउने एलपीजी ग्याँस ३३ अर्ब रुपैयाँ बढीको आयात भएको छ भने सोयाविनको कच्चा तेल २६ अर्ब, फलामजन्य कच्चापदार्थ २३ अर्ब रुपैयाँ बढीको आयात भएको छ ।