नारायणघाट-बुटवल सडक : चालु वर्षमा १५ किमी कालोपत्र गरिने, ७ पुल सम्पन्न हुँदै

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक विस्तार सुस्त गतिमा भइरहेको छ । निर्माण सुरू गरिएको ४ वर्ष बिते पनि हालसम्म जम्मा २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

ठेकेदारको वेवास्ता र ढिलासुस्तीका कारण यो सडक विस्तारले गति लिन नसकेको हो । ठेक्का सम्झौता अनुसार तोकिएको म्याद सकिएर १ वर्ष थपिए पनि अपेक्षित रुपमा गति लिन सकेको छैन ।

थपिएको समय अब ६ महिना मात्रै बाँकी रहे पनि समयमै काम सम्पन्न हुने सम्भावना छैन । यद्यपि, पछिल्लो समय भने निर्माण कम्पनीले कामको गति बढाएको छ । गत असार मसान्तसम्म १८ प्रतिशत प्रगति भएको सडकको चाल आवको ६ महिनामा थप ७ प्रतिशत प्रगति भएको हो ।

आयोजना अन्तर्गत अहिले कलभर्ट निर्माण, बेस राख्ने, वाल लगाउने, केही ठाउँमा कालोपत्र गर्ने लगायत काम भइरहेको छ । आयोजनाले चालु आर्थिक वर्ष भित्रै १५ किलोमिटर सडक कालोपत्र सक्ने जनाएको छ ।

आयोजना प्रमुख प्रदीपराज शाक्यले चालु आर्थिक वर्षमा आयोजनाअन्तर्गत १५ किलोमिटर सडक कालोपत्र गरीसक्ने बताए । उनले हाल यस खण्डका केही स्थानमा कालोपत्रको काम भइरहेको छ । आयोजना सुरू भएको ४७ महिनापछि कालोपत्रको काम सुरू भएको हो ।

उनका अनुसार पूर्वीखण्डको भेडाबारीमा १.८ किलोमिटरमा कालोपत्र भइसकेको छ । सो खण्डको दुई लेनमा पहिलो चरणको कालोपत्र गर्ने काम भएको उनले बताए । ‘यो वर्ष १५ किलोमिटर जति सडक कालोपत्र गरेर सक्ने भनेका छन्, हाल केही ठाउँमा कालोपत्रको काम समेत सुरू भइसकेको छ,’ शाक्यले चाणक्य पोष्टसँग भने ।

क्रसर उद्योगबाट नियमितरुपमा निर्माण सामग्री उपलब्ध भए आगामी असारसम्म १५ किलोमिटर सडक कालोपत्र गरिने उनले बताए । राजमार्गमा फिलिङको काम भइरहँदा गत महिना क्रसर उद्योग बन्द भएका कारण काम अघि बढाउन अप्ठेरो परेको निर्माण कम्पनीको भनाइ छ ।

सडकको पूर्वीखण्डमा ९३ वटा कल्भर्टको निर्माण सम्पन्न भइसकेको छ भने ४८ वटा कल्भर्ट निर्माणको काम भइरहेको छ । बुटवल–दाउन्ने र दाउन्ने–गैँडाकोट गरी दुई खण्डमा विभाजन गरिएको सडकको कुल लम्बाइ ११३ किलोमिटर छ । उक्त दुवै खण्डमा चालु आवमै बेस तथा सब बेसको काम समेत सुरू गरिने आयोजना प्रमुख शाक्यले बताए ।

विसं २०७५ माघमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी सरकार र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भएको थियो । सो अवधि गत साउनमा सकिएकाले आगामी साउनसम्मका लागि समय थपिएको हो । थपिएको म्याद अब ६ महिना मात्रै बाँकी रहे पनि अझै ७५ प्रतिशत काम बाँकी छ । ६ महिनामा सो काम नसकिने भएकाले फेरि म्याद थप्नुपर्ने देखिन्छ ।

आयोजना अन्तर्गत हालसम्म १४ प्रतिशत मात्र वित्तीय खर्च भएको छ । आयोजना अन्तर्गत हालसम्म १ अर्ब ७१ करोड ३६ लाख खर्च भएइसकेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख शाक्यका अनुसार चालु आर्थिक वर्षमा मात्र १० प्रतिशत हाराहारी बजेट खर्च भएको हो । उनले ३ अर्ब बजेट विनियोजन मध्ये उक्त रकम मध्ये उक्त १० प्रतिशत हाराहारी रकम खर्च भएको हो ।

विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले गैँडाकोटमा शिलान्यास गरेको झण्डै ६ दशकपछि पूर्व–पश्चिम राजमार्गको सो खण्डको विस्तार भएको हो । एशियाली विकास बैंक ९एडीबी० को ऋण सहयोगमा सडक विस्तार भइरहेको छ । निर्माणको लागतमध्ये ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी छ ।

चालु आवमै ३ ठूला र ४ साना पुल निर्माण सम्पन्न हुने

नारायणघाट–बुटवल सडक खण्ड अन्तर्गत सानाठूला गरी कुल ३० वटा पुलहरू निर्माण भइरहेका छन् । आयोजना अन्तर्गत ९ वटा ठूला र २१ वटा साना पुलहरू रहेका छन् ।

ठूलामध्ये ६ वटा पुल निर्माणाधीन अवस्थामा छन् । त्यसमध्ये पनि ३ वटा पुलको पिल्लर गाड्ने काम सकेर माथिको भाग बनाउन बाँकी रहेको शाक्यले बताए । अन्य ३ वटा पुलको पोल बनाउने काम भइरहेको छ ।

उनले ३ वटा ठूला र ४ वटा साना गरी ७ वटा पुल निर्माण चालु आवभित्र सकिने बताए । रोहीणी, मही, भद्रारी पुल गरी ३ वटा पुल निर्माण चालु आवभित्र सकिने उनले बताए । ‘चालु आवमा हामीले ३ वटा ठूला पुलको निर्माण गरिसक्ने छौँ, सडक पनि १५ किलोमिटर जति कालोपत्र गरी सक्ने देखिन्छ,’ शाक्यले भने ‘कन्ट्रयाकटरले छिटो गरे अझै धेरै काम सकिने छ ।’

साना पुल निर्माण अन्तर्गत १३ वटा पुल निर्माणको काम भइरहेको उनले जानकारी दिए । सो मध्ये ४ वटा हाराहारीमा पुल निर्माण सक्ने उनको भनाइ छ ।

अझै रुख कटान र पोल सार्न बाँकी

पछिल्लो समय सडक विस्तारको कामले सुस्त गति लिए पनि रुख कटान र पोलको समस्या भने यथावत रहेको छ । आयोजनामा अझै पनि रुख कटान र पोल हटाउने काम भइरहेको छ । रुख कटानको काम ९८ प्रतिशत सकिसकेको शाक्य बताउँछन् । आयोजनामा १२ हजार रुख कटान गर्नुपर्ने छ । सो मध्ये २५ वटा हाराहारीमा रुख कटान बाँकी रहेको उनले बताए ।

बिजुलीका पोल हटाउने काम ३५ प्रतिशत सकिसकेको उनले जानकारी दिए । सडक विस्तारका लागि २७ किलोमिटर क्षेत्रफलमा बिजुलीको पोल सारेर सकिसकेको हो । यस्तै खानेपानीको पाइप सार्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

दुई सातामै अन्तर बैंक ब्याजदर झन्डै दोब्बरले बढ्यो, कति पुग्यो ? Read Previous

दुई सातामै अन्तर बैंक ब्याजदर झन्डै दोब्बरले बढ्यो, कति पुग्यो ?

लक्ष्मी र सबैको लघुवित्तले लाभांश प्रयोजनका लागि तोके बुकक्लोज Read Next

लक्ष्मी र सबैको लघुवित्तले लाभांश प्रयोजनका लागि तोके बुकक्लोज