दुई सातामै अन्तर बैंक ब्याजदर झन्डै दोब्बरले बढ्यो, कति पुग्यो ?

काठमाडौं । बैंकिङ प्रणालीमा फेरि तरलता (लगानी योग्य रकम) अभाव हुन थालेको छ । माघ यता सहज हुँदै गएको तरलता फागुन लागेपछि पुनः अभाव हुन थालेको हो ।

नेपाल राष्ट्र बैंकले रिपोमार्फत बजारमा पठाएको ५० अर्ब रुपैयाँ फिर्ता लगेपछि बैंकिङ प्रणालीमा फेरि तरलता अभाव चुलिएको हो । तरलता अभाव बढेसँगै अन्तर बैंक ब्याजदर पनि ह्वात्तै बढेको छ ।

माघ दोस्रो साता साढे ४ प्रतिशतमा झरेको अन्तर बैंक ब्याजदर अहिले साढे ८ प्रतिशत पुगेको हो । राष्ट्र बैंकका अनुसार फागुन १ गते अन्तर बैंक ब्याजदर ८.५० प्रतिशत पुगेको छ । दुई साताको अवधिमै अन्तर बैंक ब्याजदर झन्डै दोब्बर अर्थात् ४ प्रतिशतले बढेको हो ।

यद्यपि, सीडी रेसियो भने राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल नै रहेको छ । फागुन १ गते बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८६.३१ प्रतिशत रहेको छ ।

बैंकहरुले कर्जाको माग व्यवस्थापन गर्न एक अर्को बैंकसँग सापटी लिने गर्छन् । यस्तो सापटीमा दिइने ब्याज नै अन्तर बैंक ब्याजदर हो । तरलता व्यवस्थापनका लागि बैंकहरुले अन्तर बैंक सापटीका साथै नेपाल राष्ट्र बैंकबाट पाउने स्थायी तरलता सुविधा समेत लिन थालेका छन् । माघ महिनामा तरलता सहज हुँदा बैंकहरुले स्थायी तरलता सुविधा लिन छाडेका थिए ।

तरलता अभाव भइरहेकै बेला निक्षेप भने थपिने क्रम जारी छ । पछिल्लो एक सातामै बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ तरलता थपिएको राष्ट्र बैंकले जनाएको छ । निक्षेप थपिए पनि थप कर्जा लगानी भने हुन सकेको छैन । पछिल्लो एक सातामा बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ ।

राष्ट्र बैंकका अनुसार माघ २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५३ खर्ब ८२ अर्ब र कर्जा लगानी ४८ खर्ब २७ अर्ब रुपैयाँ छ ।

एशियन हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

एशियन हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

नारायणघाट-बुटवल सडक : चालु वर्षमा १५ किमी कालोपत्र गरिने, ७ पुल सम्पन्न हुँदै Read Next

नारायणघाट-बुटवल सडक : चालु वर्षमा १५ किमी कालोपत्र गरिने, ७ पुल सम्पन्न हुँदै