फुल्चोकी-कुशादेवीमा प्याराग्लाइडिङको परीक्षण उडान सुरू

काभ्रेपलाञ्चोक । पनौती नगरस्थित पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान सुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले काभ्रेको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गत पुस अन्तिम साता प्याराग्लाइडिङ (मनोरञ्जनात्मक उड्डयन सञ्चालन)को अनुमति दिएको थियो ।

उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ प्राधिकरणले गत माघबाट सञ्चालन गर्न पाउने गरी अनुमति प्रदान गरेको हो । प्राधिकरणबाट सञ्चालन निर्देशन भएपछि व्यावसायिक उडानको तयारीस्वरुप सोमबारदेखि परीक्षण उडान सुरु गरिएको प्रालिका अध्यक्ष छविलाल हुमागाईँले बताए । ‘व्यावसायिक उडानका लागि परीक्षण उडान थालेका हौँ, तीन दिनको परीक्षण उडानपछि व्यावसायिक उडान गर्नेछौँ,’ उनले भने । सम्पूर्ण तयारीपछि उडान थालिएको जनाइएको छ ।

अध्यक्ष हुमागाईँका अनुसार हाल उडानका लागि तीन प्याराग्लाइडिङबाट ‘डेमोस्ट्रेशन’ उडान भएको हो । परीक्षण उडानपछि क्रमशः १० वटाले प्याराग्लाइडिङबाट उडान सञ्चालनमा ल्याइने जनाइएको छ । ‘डेमोस्ट्रेशन’ उडानपछि ‘टेकअप’ र ‘ल्याण्डिङ’का स्थान यकिन गरी दुवै क्षेत्रको दिगो व्यवस्थापनमा लाग्ने उनले बताए ।

कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा फुल्चोकीको गुर्दूमडाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला १५ प्याराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो भने त्यसपछि अन्य दुई समयमा पनि व्यावसायिक उडानका लागि परीक्षण भइसकेका थिए । उक्त स्थानबाट उडान भर्ने स्थान, ल्याण्डिङ, हावाको चाप तथा अन्य वातावरण अनुकूल भएकाले हाल अनुमति पाएको जनाइएको छ ।

यस्तै प्रालिले दैनिक १० प्याराग्लाइडिङले बिहान १० देखि अपराह्न ४ बजेसम्म उडान अनुमति पाएको हो । तोकिएको समयमा ६ हजार ५०० फिट उचाइसम्म ‘भिजीबीलिटी’ रहने जनाइएको छ । प्याराग्लाइडिङ गुर्दूमडाँडाबाट उडान सुरुगरी कुशादेवीको बन्चरेटारमा ल्यान्डिङ हुन्छ । गुर्दूमडाँडाबाट बन्चरेटार सडकको दूरीका हिसाबले चार किलोमिटर हो । तर प्याराग्लाइडिङको दूरी करिब १ हजार ५० मिटर छ । उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने ल्याण्डिङ हुने स्थान बन्चरेटार १ हजार ३०० मिटरमा छ ।

प्याराग्लाइडिङ उडानका लागि स्थानीय पाँच युवालाई सोही विषयको अध्ययन गराइएको थियो । ‘प्याराग्लाइडिङले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै यस क्षेत्रको पर्यटन प्रचारात्मक हुने अपेक्षा गरेका छौँ,’ पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले भने । उनका अनुसार प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्नेछ ।

पनौती नगरले पनि चालु आर्थिक वर्षमा साहसिक खेल–पर्यटनलाई प्राथमिकतामा राखेको छ । साथै यस वर्ष हाइकिङ ट्रेलको विकास, विस्तार तथा प्रचार गर्न नगरले आफ्नो नीति तथा कार्यक्रममासमेत उल्लेख गरेको छ । यस्तै साहसिक खेलजन्य गतिविधिको प्रवद्र्धनार्थ प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, साइक्लिङजस्ता इभेन्ट सञ्चालन गरिने योजनामा राखिएको हो ।

नगरले यसअघि गत वर्ष चैतमा पर्यटन प्रवद्र्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइक्लिङको सुरुआत गरेको थियो । उक्त साहसिक खेल नगरको १ नं वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नं वडाको नागीडाँडासम्म छ किलोमिटर साइक्लिङ टे«ल रुट तय गरिएको छ । नगरको ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा त्यतिबेला नेपाल, क्यानाडा र भारतका करिब दुई सय राइडरले साइक्लिङ गरेका थिए ।

यसैगरी नेपाल पर्यटन बोर्डका अनुसार पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल (लो–ल्याण्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक०, गुर्दूम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृष्यावलोकन), योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्न सकिने छ ।

गत वर्ष असोजमा बोर्डले पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधि प्रचारमा ल्याएको थियो । यसका लागि बोर्डले पनौती नगरभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीयस्थललाई मान्यता दिँदै प्रचार सामग्रीसमेत सार्वजनिक गरेको छ । यस्तै साहसिक खेल पर्यटनका लागि पनौती उपयुक्त स्थान रहेको जनाउँदै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक क्लाइमिङजस्ता खेल गर्न सकिने बोर्डले जनाएको छ ।

काठमाडौंमा सार्वजनिक यातायात नचलाउने घोषणा Read Previous

काठमाडौंमा सार्वजनिक यातायात नचलाउने घोषणा

अस्तव्यस्त सार्वजनिक यातायातको विकल्प 'पोड वे’, यसरी हुन्छ संचालन Read Next

अस्तव्यस्त सार्वजनिक यातायातको विकल्प 'पोड वे’, यसरी हुन्छ संचालन