काठमाडौं । नेपालमा सार्वजनिक यातायात प्रणाली निकै कम्जोर र अस्तव्यस्त छ । काठमाडौं उपत्यका र देशका ठूला सहरी क्षेत्रमा ट्राफिक जाम एक मुख्य समस्या बन्दै गएको छ । बढ्दो सवारी चाप, साँघुरा सडक, अस्तव्यवस्थ सवारी व्यवस्थापन लगायत कारणले छोटो दूरीको यात्रा गर्न पनि घण्टौं लगाउनुपर्ने बाध्यता रहेको छ । जसले आम नागरिकको दैनिकी समेत प्रभावित बनाउँदै आएको छ ।
देशभर गुड्ने सवारीसाधन मध्ये सार्वजनिक सवारीको संख्या करिब २० प्रतिशत मात्रै रहेको छ । जबकी दुईतिहाई बढी मानिसले सार्वजनिक यातायात प्रयोग गर्दै आएका छन् । देशमा दुईपांग्रे र चारपांग्रे्रे सवारीसाधनको माग बढ्दो छ । सवारी दर्ताको वार्षिक वृद्धि दर १६ प्रतिशतभन्दा बढी छ । यसले सार्वजनिक यातायातका साधनभन्दा निजी सवारीप्रतिको आकर्षण रहेको देखाउँछ । सार्वजनिक यातायात सरल, सहज, छिटो, छरितो, व्यस्थित नहुँदा आम मानिस बाध्य भएर निजी साधनतर्फ लागेका छन् ।
काठमाडौंसहित देशको सवारी व्यवस्थापन र सहज बनाउनका लागि मोनो रेल, मेट्रो रेल, ठूला बिजुली बस चलाउनुपर्ने जस्ता आवाज उठ्दै आएका छन् । राजनीतिक दलका नेता र सरकारले समेत बिना अध्ययन बेलाबेलामा मोनो, मेट्रो रेल बनाउने हावादारी भाषण गर्दै आएका छन् ।
साथै, सडकमा हुने जाम घटाउनका लागि पूर्वाधारका रूपमा अन्डरपास, फ्लाइओभर निर्माण गर्ने योजना घोषणा गर्दै आइए पनि हालसम्म सार्थकता पाउन सकेको छैन । उपत्यकामा दर्जनौं चोकमा फ्लाइओभर र अण्डरपास बनाउन आवश्यक छ । तर, अहिलेसम्म कागजमै सीमित छ । यद्यपि, हाल ललितपुरको ग्वार्कोमा भने फ्लाइओभर निर्माण सुरू भएको छ ।
सार्वजनिक यातायातको विकल्प बन्न सक्ने ‘पोड वे’
यसैबीच, अस्तव्यस्त सवारी व्यवस्थापन र सार्वजनिक यातायातलाई सहज तथा छरितो बनाउन माइक्रो रेल (पोड वे) संचालनको योजना अघि सारिएको छ । निजी क्षेत्रको कम्पनी पोड वेको पहलमा यो योजना अघि बढेको हो ।पोडवे कम्पनीका उपाध्यक्ष निल भट्टराई काठमाडौं उपत्यका भित्रको सडकमा सवारी चाप घटाउन माइक्रो रेलले ठूलो भूमिका खेल्ने बताउँछन् ।
उनका अनुसार देशका मुख्य सहर र अन्य सहरभित्र अत्याधुनिक कम्प्युटर नियन्त्रित सेवाको लागि यो पोड वे सञ्चालनमा ल्याउने तयारी गरेको हो । यस परियोजनाका लागि स्वीकृति लिइसकेको र नितीगत रूपमा कुनै अवरोध नभएको भट्टराईले बताए ।
यसैक्रममा, केही नगरपालिकासँग दुई पक्षीय सम्झौता समेत गरिसकेको उनले जानकारी दिए । अन्य ६ निकायसँग निकट भविष्यमा सम्झौता गर्ने तयारी रहेको उनले बताए । ‘हामीले विभिन्न निकायहरूसँग छलफल गरिरहेका छौँ, केहीसँग दुई पक्षीय सम्झौता समेत भइसकेको छ, केही निकायहरूसँग सम्झौताको तयारी भइरहेको छ,’ भट्टराईले चाणक्य पोष्टसँग भने ।पोडवे कम्पनीका उपाध्यक्ष निल भट्टराई
पोडवे कम्पनीका उपाध्यक्ष निल भट्टराईकम्पनीले देशभर फेज वाइज माइक्रो रेल सञ्चालनमा ल्याउने तयारी गरेको छ । भट्टराईका अनुसार सुरूमा काठमाडौं उपत्यका भित्र १०० किलोमिटरमा माइक्रो रेल सञ्चालन गर्ने लक्ष्य रहेको छ ।
सहरी क्षेत्रलाई विकेन्द्रीत गर्न समेत यस यातायात सञ्जालले सघाउ पुर्याउने भन्दै उनले चक्रपथलाई मात्र प्राथमिकता नदिई अन्य क्षेत्रमा समेत यातायात सहजताका लागि यसले सघाउ पुर्याउने बताए ।‘सुन्दरीजल र बौद्ध जोड्ने गरी यसलाई जोड्ने हो भने त्यहाँ बस्ने मान्छेहरू सहजै काम गर्न सहरी क्षेत्रमा आउन सक्ने छन्, त्यसको लागि बौद्ध, चाबहिल, बानेश्वर नै बस्नुपर्ने अवस्था हुँदैन,’ भट्टराईले भने ‘हाम्रो इच्छा यति हो कि मान्छेले चाहेको समयमा चाँहेको ठाउँमा पुग्न सकुन ।’
यस पोडवेको माधयमबाट ७ मिनेटमा सुन्दरीजलको मान्छे बौद्ध आवतजावत गर्न सक्ने उनले बताए । यस्तै बौद्धको मान्छे पोडवे चडेर ७ मिनेटमा न्यूरोड पुग्न सक्छ । आजको दिनमा बौद्धबाट न्यूरोड पुग्न १ घण्टा लाग्छ ।
पोड वे भनेको एक किसिमको तारमा गुड्ने रेल हो । पोड वे दुईतिर पोल राखेर बीचमा तार टाँगिएको हुन्छ । यो सडकको बीचबाट माथि गुडाउन सकिन्छ । यसको पोलको दूरी अधिकतम ३ किलोमिटरसम्म राख्न मिल्छ । यो इस्ट्रिङ बेस टेक्नोलोजी हो ।
यो आर्टिफिसियल इन्टेलिजेन्स (एआई)द्धारा आफैं कम्प्यूटरको सहयोगमा चल्नछ । सामान्य रूपमा यो केबलकार जस्तै हो । केबलकारभन्दा यसको लागत खर्च ५० प्रतिशत सस्तो रहेको छ यसको सञ्चालन खर्च ८५ प्रतिशत सस्तो पर्ने भट्टराई बताउँछन् ।
यो मेट्रो रेल र रेल गुडाउनेभन्दा ३ गुणा सस्तो पूर्वाधार रहेको उनले बताए । माइक्रो रेल युनिकार र युनीबस पनि हुन्छ । यसमध्ये युनीकारमा ६ जना अट्छ भने युनीबसमा १४ जना अट्ने छन् । यसमा ३ वटासम्म युनीबस जोडेर गुडाउन सकिन्छ । युनी बसले १ घण्टामा १५ सय जना यात्रुलाई सेवा पुररयाउन सक्नेछ ।
विश्वमा ५ वटा कम्पनीले स्ट्रिम बेस टेक्नोलोजीमा काम गरिरहेका छन् । पोड वे कम्पनीले सन् २०१९ मा क्यानडाका इन्जिनीयरलाई ल्याएर विभिन्न स्थानमा सम्भाव्यता अध्ययन समेत गरेको थियो ।
कोभिडको समयमा गोकर्णेश्वर नगरपालिकामा पोडवे जोड्न छलफल भए पनि २ वटा नगरपालिका जोड्ने भएकाले समन्वयन हुन सकेको थिएन । जबकी गोकर्णेश्वर नगरपालिकाले पोडवे सञ्चालनका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो ।
राइट अफ वेको निर्णय संघीय सरकारले उपलब्ध गराउनु पर्ने भएकाले यो योजना कार्यान्वयनमा ल्याउन नसकिएको भट्टराईले बताए । यसलाई करिडोरको खोलामा बीचबाट पोडवे सञ्चालन गर्न सकिने उनले बताए । यसमा चढ्नका लागि आकाशे पुल जस्तै स्टेसन बनाइने छ । उक्त आकाशे पुलमा चढेर सजिलै पोडवे सेवा लिन सकिने छ ।
सर्वसाधरणलाई लक्षित गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको यो पोडवेमा प्रतिकिलोमिटर १० रुपैयाँ सेवा शुल्क लिइने उनले जानकारी दिए । विद्युतबाट चल्ने पोडवेमा विद्युत खपत कम हुनेछ । सहर र यसको भौगोलिक अनुसार जस्तो ठाउँमा पनि यसको उचाइ मिलाएर राख्न सकिन्छ । पोडवे प्रतिघण्टा १५० किलोमिटर गुड्न सक्ने उनको दाबी छ ।
‘यस्ता खालका मेगा प्रोजेक्ट एक दिन ढिला हुनु भनेको दिनदिनै लागत बढ्नु हो, त्यसैले काम सुरू गर्न ढिलाई गर्नु हुँदैन,’ भट्टराईले भने । सुरूमा पाइलट प्रोजेक्टको रूपमा लुम्बीनीमा पोड वे बनाउने गरी छलफल भइरहेको उनले जानकारी दिए ।
पोड वे कम्पनीले ५६२ किलोमिटरमा माइक्रो रेल निर्माणका लागि प्रि फिजिबिलिटी अध्ययन गरेको उनले बताए । गोकर्णेश्वर नगरपालिका, बुढानिलकण्ठ, तारकेश्वर, नागार्जुन र काठमाडौं महानगरपालिका जोड्ने गरी ५६२ किलोमिटरको लागि प्रिफिजिबिलिटी स्टडी भइसकेको हो । पोडवे कम्पनीले १० वर्षभित्रमा १ हजार किलोमिटरमा माइक्रो रेल सञ्चालनमा ल्याउने गरी योजना बनाएको छ ।
पोखरादेखि काठमाडौंको दुरी २ घण्टामा जोड्ने !
पोड वे सञ्चालनमा ल्याउन सके यसले पोखरादेखि काठमाडौंको दुरी २ घण्टामा घटाउने उनले बताए । प्रतिघण्टा १५० किलोमिटरको गतिमा सञ्चालन हुने यस माध्यबाट देशका पर्यटकीय स्थानलाई जोड्नुका साथै समयको सदुपयोग समेत हुने उनी बताउँछन् ।
उनले लामो दुरीको यात्रालाई सहज र छरितो बनाउन पोडवेले ठूलो भूमिका खेल्ने उनको विश्वास छ । उनले पोखराका ५ ताललाई जोड्ने गरी पोडवे निर्माणका लागि समेत प्रस्ताव आएको बताए । यसले पोखरामा पर्यटकको आगमन बढाउन समेत सहयोग गर्ने बताए ।
‘हामीले पर्यटकीय क्षेत्र छनोट गरेर ७/८०० रुपैयाँ भाडा लिनेभन्दा सार्वजनिक यातायातको क्षेत्रमा सेवा प्रदान गर्न चाहान्छौँ,’ भट्टराईले भने ।
उपत्यकादेखि सगरमाथासम्मको योजना
यसलाई ३ हजार मिटर माथिको अग्लो ठाउँमा पनि राख्न सकिने भट्टराई बताउँछन् । सगरमाथा बेस क्याम्पका लागि कोङगोई हिल स्टेसनदेखि पातलेसम्म ४७ किलोमिटरमा पनि यो बनाउन मिल्ने गरी १ नम्बर प्रदेश सरकारसँग छलफल भएको उनले जानकारी दिए । यो भूकम्पमा समेत केही हुँदैन । हावाहुरीले पनि केही हुँदैन ।
विगतमा यसको प्रिफिजिबिलिटी गर्न पोडवे कम्पनीले पूर्व पर्यटनमन्त्री शेरधन राईसँग मिलेर काम गरेको बताए हौँ । उनले पछि सरकार परिवर्तन भएपछि सोचे जस्तो काम गर्न नसकिएको बताए ।
निर्माण लागत
माइक्रो रेल निर्माणका लागि प्रतिकिलोमिटर ४० करोड रुपैयाँ लाग्ने उनको भनाइ छ । नेपालमा पाइने वस्तु प्रयोग गर्दा यो अझ सस्तो पर्ने भट्टराई बताउँछन् । पीपीपी मोडलमा समेत यो निर्माण गर्न सकिने भएकोले सरकारले डीपीआर गरी राइटअफ वे दिए पोडवे कम्पनीले आफैं पूर्वाधार निर्माण गर्ने बताए ।
यस यातायात सञ्जालले २ हजार वाटको बिजुली खपत गर्ने छ । यो हाइटेक टेक्नोलोजी हो । उनले यसलाई प्रतिकिलोमिटर १० रुपैयाँ सेवा शुल्कमा सञ्चालन गर्न सकिने बताए । यातायातको नयाँ समाधानको रूपमा यसलाई देशभर विकास गर्न सकिने उनले बताए । राज्यको तर्फबाट कुनै समस्या नआए कम्पनीेले १०० किलोमिटरमा डेढ वर्षमा पोडवे सञ्चालन निर्माण गर्ने उनले जानकारी दिए ।
स्वदेशमै लगानी जुटाउन सकिने
उनले सुरूमा १/२ स्थानमा पोडवे सञ्चालन गरेपछि साधरण सेयर (आपीओ) कार्फत लगानी जुटाउन सकिने रहेको बताए । नबिल बैंकलाई म्यूचल फण्ड जस्तो बनाएर ह्याण्डल गर्न दिने समेत योजना रहेको उनले बताए ।
‘यो सबै नेपालीको कम्पनी होस । हरेक नेपालीले १०० रुपैयाँ हालेर यो हाम्रो सम्पत्ति हो भन्ने अनुभूति गराउने छौँ,’ भट्टराईले भने । उनले सरकारले कुनै सहयोग नगरे पनि विदेशी लगानी भित्र्याएर भए पनि नेपालमा पोड वे सञ्चालनमा ल्याइने बताए ।
निर्माण पछि विदेशी कन्सलटेन्ट ल्याएर पोडवेको व्यवस्था गर्ने उनले बताए । कम्पनीले सरकारी लाइसेन्स लिने र नगरपालिकासँग सहकार्य गरेर यसलाई अघि बढाउने योजना छ ।
कति सुरक्षीत ?
यूनिट्स स्ट्रिङ टेक्नोलोजीको स्ट्रिङ बेस तारमा आधारीत टेक्नोलोजीमा २०२० मा अमेरिकन र यूरोपीयन मापदण्ड पूरा गरी प्रमाणीत भएको एक उत्कृष्ट प्रविधिको रूपमा विकास भएको छ । पोडवेमा ४ वटा मोटर राखिएको हुन्छ । ३ वटा बिग्रे पनि एउटाले स्टेसनसम्म पुर्याउने छ ।
चल्दाचल्दै लाइन गएमा १०० किलोमिटरसम्म ब्याकअपबाट गुड्न सक्ने प्रविधि यसमा छ । यसमा जीपीआरएस, इन्टरनेट, रेडियो वेभ समेत हुनेछ । पोडवेमा ११ वटा ट्रान्सपोर्ट सिस्टम छ । युनीबसलाई कम्पबाइन गरेर ४२ जनासम्मलाई राखेर सञ्चालन गर्न सकिन्छ । रातीको लागि प्यासेन्जर फ्लो कम हुँदा सबै बन्द गरेर एउटा मात्र गुड्ने बनाउन पनि सकिन्छ ।
यसमा सीसीक्यामेरा, इन्टरनेट सबै भएका कारण यो धेरै सुरक्षीत र सरल यातायातको रूपमा विकास हुन सक्नेछ । पोडवेको रिसर्च एण्ड डेभलप सेन्टर बेलारुसमा छ । बेलारुस र दुबइमा यो सञ्चालनमा आइसकेको छ । बेलारुस चिसो ठाउँ हो भने दुबइ तातो ठाउँ हो । यो जस्तोसुकै तापक्रममा समेत सञ्चालन गर्न सकिन्छ भनेर अध्ययन भइसकेको छ ।
बेलारुसका वैज्ञानिक डाक्टर एनाटोनी युनिष्टीले यस विषयमा ४० वर्ष लगाएर अध्ययन गरेका हुन् । यो २०२० मा सुरक्षीत प्रमाणीत भएको छ ।हाल ६ भन्दा बढी देशमा यो सञ्चालनका लागि तयारी भइरहेको छ । इजरायल, मौरिसस, अमेरिका, लगायतका देशमा समेत यसको निर्माणको तयारी भइरहेको उनले बताए ।
यसका फाइदाहरू
पोडवे सञ्चालनमा आए सडकमा ट्राफिक जाममा लाग्ने समय घट्ने छ । यसले ३ हजार बढीका लागि रोजगारको अवसर सृजना गर्नुका साथै वैदेशिक लगानी भित्र्याउन समेत सघाउ पुर्याउने उनले बताए । यस कम्पनीले नेपालमा रहेको अन्य इन्जिनीयरिङ कम्पनीसँग मिलेर काम गर्ने योजना बनाएको छ ।
यसले विश्वभर पर्यटकलाई भित्र्याउने र देशको आर्थिक समस्यालाई समाधानको बाटोमा डोर्याउने उनले बताए । पोडवे निर्माण गर्दा सरकारले मुआब्जा र जग्गा प्राप्तीको समस्या भोग्नु पर्दैन । सडकको माथिबाट जाने भएकाले आकाशे पुल बनाए पुग्ने भट्टराई बताउँछन् । उनले प्रत्येक १ किलोमिटरको दुरीमा आकाशे पुल राखेर यसलाई सञ्चालन गर्न सकिने बताए । साथै खोलाको बीचबाट पनि यसलाई लान सकिन्छ ।
कार्गो ढुवानी गर्न मिल्ने
यसमापछि कार्गो पनि सञ्चालन गर्न मिल्छ । आजको दिनमा १३ हजार रूपैयाँ बिजुलीले १०० टन सामान १०० किलोमिटरसम्म पुर्याउन सक्ने भट्टराईले जानकारी दिए । यसका लागि वीरगञ्ज र चोभार ड्राइपोट जोड्ने योजना रहेको उनले बताए । पोडवेबाट वीरगञ्जमा लोड भएको सामान चोभारमा १ घण्टामा आइपुग्ने उनको दाबी छ । वीरगञ्जदेखि चोभार ड्राइपोर्टसम्म पोडवे राख्न झण्डै डेढ सय किलोमिटर दुरीमा हुने उनको भनाइ छ ।