काठमाडौं । जीवन बीमा कम्पनीहरूको खुद नाफामा छलाङ आएको छ । नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफा औसतमा ७०.४५ प्रतिशतले बढेको छ ।
सूचीकृत ११ जीवन बीमा कम्पनीहरूले चालु आवको पुस मसान्तसम्म २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ८५ करोड १४ लाख रुपैयँँ बढी हो । गत वर्षको दोस्रो त्रैमाससमा यी कम्पनीले कुल १ अर्ब २० करोड रुपैयाँ नाफा कमाएका थिए ।
समीक्षा अवधिमा नेप्सेमा सूचीकृत ११ वटै जीवन बीमा कम्पनीके नाफा बढेको छ । खुद बीमा शुल्क, अन्य आम्दानी, कर्जा लगानीबाट प्राप्त हुने आम्दानी बढ्दा बीमा कम्पनीहरूको नाफामा उल्लेख्य वृद्धि भएको हो । साथै, बैंकिङ प्रणालीमा भएको ब्याजदर वृद्धिले बीमा कम्पनीहरूके नाफा बढ्न ठूलो टेवा पुर्याएको हो ।
ब्याजदर वृद्धिका कारण बैंक, फाइन्स, लघुवित्त, हाइड्रोपावर लयागत क्षेत्रका कम्पनीहरूको नाफा घट्दा बीमा कम्पनीहरूलाई भने फाइदा पुगेको छ । बीमा कम्पनीहरूले आफूले संकलन गरेको बीमाशुल्कको ९० प्रतिशत रकम निक्षेपमा राख्ने गर्छन् । गत वर्षको तुलनामा अहिले निक्षेपको ब्याजदर धेरै हुँदा नाफा ह्वात्तै बढेको हो ।
नेपाल लाइफ बन्यो धेरै कमाउने
समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स सबेभन्दा धेरै नाफा कमाउने जीवन बीमा कम्पनी बनेको छ । पुस मसान्तसम्म नेपाल लाइफले ४४ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा नेपाल लाइफको नाफा तीन गुणाभन्दा धेरैले बढेको हो । 
यस्तै, दोस्रो धेरै नाफा कमाउनेमा हालै एकीकृत कारोबार सुरु गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्स छ । सूर्यज्योतिले ६ महिनामा २८ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
समीक्षा अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) सबैभन्दा कम नाफा कमाउने जीन बीमा कम्पनी बनेको छ । पुस मसान्तसम्म एलआइसीले ९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ ।
समीक्षा अवधिमा ३ जीवन बीमा कम्पनीको नाफा शतप्रतिशतभन्दा धेरैले बढेको छ । नेपाल लाइफ २३७, रिलायन्स लाइफ ११९ र प्रभु लाइफको नाफा १०७ प्रतिशतले बढेको छ । यस अवधिमा प्राइम लाइफको सबैभन्दा कम ०.२५ प्रतिशत मात्र बढेको छ ।