काठमाडौं । शिखर इन्स्योरेन्सको खुद नाफामा झिनो गिरावट आएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ०.९५ प्रतिशतले घटेको हो ।
चालु आवको पुस मसान्तसम्म इन्स्योरेन्सले २४ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको २३ लाख रुपैयाँ कम हो । कम्पनीले गत वर्षको पुससम्म २४ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो।
आम्दानी घटेसँगै कम्पनीको नाफा पनि प्रभावित भएको हो । समीक्षा अवधिमा इन्स्योरेन्स आम्दानी १.८० प्रतिशतले घटेर ३९ करोड ७४ लाखमा सीमित भएको छ ।
आम्दानी घटे पनि खुद बीमा शुल्क संकलन भने बढेको छ । समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क संकलन १.०९ प्रतिशतले बढेर ७७ करोड पुगेको छ । यस्तै, कम्पनीको यस अवधिमा लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी १३ करोड १७ लाख रुपैयाँ छ ।
हाल २ अर्ब २८ करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ८१ करोड रुपैयाँ संचित छ । त्यस्तै, बीमा कोषमा १ अर्ब ५३ करोड र महाविपत्ति कोषमा १३ करोड ८ लाख रुपैयाँ छ ।
समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २१.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१५.२१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३.४९ गुणा छ ।