हुलाकी राजमार्गमा ३५ पुलको ठेक्का लगाउने तयारी, डिजाइन स्वीकृतिको चरणमा

सांकेतिक तस्वीर

काठमाडौं । राष्ट्रिय गौरव आयोजना हुलाकी लोकमार्गमा यसै वर्षभित्र ३५ वटा पुलको ठेक्का लगाइने भएको छ । आयोजना अन्तर्गत ठेक्का लाग्न बाँकी ८१ पुलमध्ये ३५ वटाको ठेक्का लगाउने तयारी गरिएको हो ।

हाल ३५ वटा पुलको डिजाइन स्वीकृतिको क्रममा रहेको आयोजनाले जनाएको छ । आयोजनाका सिनियर डिभिजन इन्जिनीयर निरज ठाकुरका अनुसार ३५ वटा पुलको डिजाइन पूरा भई स्वीकृतिका लागि सडक विभागमा पेस गरिएको छ ।

डिजाइन तयार भएका अधिकांश पुल पूर्वी र मध्य क्षेत्रका छन् । इटहरी, धनुषा, वीरगञ्ज, कपिलवस्तु, दाङ, बाँके, बर्दिबास, जनकपुर लगायतका जिल्लाहरूका पुलको डिजाइन पूरा भई स्वीकृतिका लागि सडक विभाग पठाइएको उनले जानकारी दिए । उनका अनुसार पुलको डिजाइन स्वीकृत हुना साथ निर्माणका लागि ठेक्का आह्वान गरिनेछ ।

‘अहिले ३५ वटा पुलको डिजाइन स्वीकृतिका लागि सडक विभागमा पेस गरिएको छ, त्यो पेस भएर आएपछि निर्माणका लागि ठेक्का आह्वान गर्ने छाैं,’ ठाकुरले चाणक्य पोष्टसँग भने ।

४६ पुलको हाइड्रोलोजी स्टडी हुँदै

यस्तै, ४६ वटा पुलको हाइड्रोलोजी स्टडी भइरहेको उनले जानकारी दिए । निर्माण गर्ने स्थानमा भएको सतह, पानीको वाहव र लम्बाइको अध्ययनका लागि हाइड्रोलोजी स्टडी गरिने उनले बताए ।

हाइड्रोलोजी स्टडी पनि उक्त पुलहरूको डिजाइन बनाइने छ । डिजाइन स्वीकृत भएपछि सो पुलहरूको निर्माणको लागि ठेक्का आवहान गरिने छ ।

आयोजनाका प्रमुख धरम्रेन्द्रकुमार झाले आयोजनाको कुल २५० पुल मध्ये हालसम्म १३० वटा पुलको निर्माण पूरा भइसकेको जानकारी दिए । अन्य ८१ वटा पुलको ठेक्का व्यवस्थापन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । उनका अनुसार यो आर्थिक वर्षभित्र सम्पूर्ण पुलहरूको डीपीआर सम्पन्न गरी ठेक्का लगाइने छ ।

अन्तर्राष्ट्रिय मुद्राकोषको ऋण परिचालन गरी २०६६ मा सुरू गरिएको यो आयोजना अझै कहिले सम्पन्न हुने टुंगो लाग्न सकेको छैन । पूर्वपश्चिम राजमार्गभन्दा दक्षिण सीमावर्ती क्षेत्रबाट समानान्तर रूपमा चल्ने यो राजमार्गले पूर्व झापाको केचनाकवललाई पश्चिम कञ्चनपुरको चाँदनी दोधारासँग जोड्नेछ ।

उनले उक्त आयोजना पूरा हुन अझै २ वर्ष लाग्ने बताए । ‘आयोजना पूरा हुन २ वर्ष अझै लाग्छ, ठेक्का नलागेका योजनाहरू सबै यही वर्ष ठेक्का लगाउने छौँ,’ झाले चाणक्य पोष्टसँग भने ।उनका अनुसार २०८२/८३ भित्र हुलाकी राजमार्गको निर्माण पूरा हुने छ ।

आयोजनामा चालु आर्थिक वर्षमा २९.२ किलोमिटर सडक कालोपत्रे भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को माघ गत सातासम्म हुलाकी राजमार्ग राजमार्गमा २९.२ किलोमिटर कालोपत्रे भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा हुलाकी राजमार्ग अन्तर्गत १ हजार १४० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको छ । हालसम्म कुल आयोजनामा ९१९.२१ किलोमिटर सडक कालोपत्रे भइसकेको भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।

उनले हुलाकी राजमार्गको निर्माण सम्पन्न हुन अझै २ वर्ष म्याद थप गर्नु पर्ने बताए । ‘हामीले उनीहरूले काम समयमा नसकेकाले धेरै म्याद थप नगरेका हौँ, एकै पटक २/३ वर्षका लागि म्याद थप दियो भने काम गर्दैनन् । त्यसैले थोरै थोरै म्याद थप गरेका हौँ,’ शर्माले चाणक्य पोष्टसँग भने ।

तराई–मधेसका २३ जिल्ला जोड्ने हुलाकी राजमार्ग विस्तारको काम यही आवभित्र सक्नुपर्ने छ । तर अहिलेसम्म यो राजमार्गको काम ६५ प्रतिशत मात्रै भएको छ ।

हुलाकी राजमार्गको लम्बाई कुल १ हजार ७९२ किलोमिटर रहेको छ । यस खण्डमा २१९ वटा पुल निर्माण गर्नु पर्नेछ । २०६६/६७ देखि २०७९/८० सम्म समपन्न गर्ने गरी सुरू भएको यस आयोजना पूरा हुन अब ६ महिना हाराहारी अवधि बाँकी रहेको छ । यस आयोजनाको निर्माण लागत ६५ अर्ब २० करोड रुपैयाँ अनुमान गरिएको छ ।

आयोजना सुरू भएको १३ वर्षमा यस आयोजना अन्तर्गत हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको मन्त्रालयले जनाएको छ । यसको वित्तीय प्रगति ८० प्रतिशत बढी भइसकेको छ ।

 

शिखर इन्स्योरेन्सको नाफामा झिनो गिरावट, यस्तो छ वित्तीय अवस्था Read Previous

शिखर इन्स्योरेन्सको नाफामा झिनो गिरावट, यस्तो छ वित्तीय अवस्था

बेनी-जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने Read Next

बेनी-जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने