काठमाडौं । पछिल्लो समय ग्रीन फाइनान्सिङमा लगानी बढ्दै गएको छ । क्लिन इनर्जीको प्रयोग बढाएर कार्बन उत्सर्जन घटाउन ग्रीन फाइनान्सिङमा लगानी बढ्दै गएको हो ।
पेट्रोलियम इन्धन तथा उपकरणको प्रयोग र त्यसबाट उत्पन्न हुने ग्यास न्यूनीकरण गर्न विभिन्न प्रयासहरू भइरहेका छन् । जलवायु परिवर्तन र वातावरणीय प्रदूषण बढ्दै गएपछि विश्वभर ग्रीन इनर्जीको क्षेत्रमा लगानी बढ्दो छ ।
कार्बन उत्सर्जन गर्ने इन्धन र त्यसबाट सञ्चालन हुने उपकरणका विकल्पको रूपमा इलेक्ट्रीक भेहिकल, क्लिन इनर्जी, बायो र ग्रीन टेक्नोलोजीको प्रयोग बढ्दै गइरहेको हो ।
जलविद्युत्, इन्डक्सन चुल्हो, इलेक्ट्रीक भेइकल, केबलकार, सौर्य ऊर्जा, चार्जिङ स्टेसन क्षेत्रमा भइरहेको लगानीलाई ग्रीन फाइनान्सिङको रूपमा लिन सकिन्छ ।
बैंकहरूले लगानी बढाउँदै
ग्रीन फाइनान्सिङका लागि बैंकहरूले विदेशबाट लगानी भित्र्याउन नसके पनि आन्तरिक रूपमा भने विभिन्न क्षेत्रमा कर्जा लगानी गरिरहेका छन् ।
केही समयअघि एनएमबी बैंकले ग्रीन फाइनान्सिङका लागि यूएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेससँग १८.९ मिलियन अमेरिकी डलर ऋण सहयोगका लागि समझदारी गरेको थियो ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बैंकहरूले आन्तरिक रूपमा ग्रीन इनर्जीका क्षेत्रमा लगानी बढाउँदै लगेको बताउँछन् ।
‘हाइड्रोपावर, सोलार इनर्जी, विद्युतीय चार्जिङ स्टेसन लगायतका संरचनालाई हामीले ग्रीन फाइनान्सिङका रूपमा लिन सक्छौं । बैंकहरूले कर्जा लगानी गर्दा वातावरणीय प्रभावलाई समेत ध्यान दिनुपर्ने राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको छ,’ उनले भने, ‘जसले स्वच्छ वातावरण र ग्रीन इनर्जीको क्षेत्रमा बैंकलाई लगानी गर्नुपर्ने आवश्यकता बढाएको छ । बैंकहरूले विदेशबाट यही क्षेत्रका लागि लगानी ल्याउन नसके पनि हाइड्रोपावर लगायतका क्षेत्रहरूमा लगानी गरिरहेका छन् ।’
बैंक तथा वित्तीय सस्थाले १० प्रतिशत अनिवार्य हाइड्रोपावरमा कर्जा लगानी गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकका अनुसार वित्तीय संस्थाहरूले हालसम्म हाइड्रोपावरमा २ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
ग्रीन फाइनान्सिङ तथा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी गर्न एक दर्जन बढी वाणिज्य बैंकहरूले विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छन् । बैंकहरूले हालसम्म ६३ अर्ब १७ करोड रुपैयाँ विदेशबाट लगानीका लागि ऋण लिए पनि ग्रीन फाइनान्सिङको क्षेत्रमा मात्र कत्ति रुपैयाँ लगानी गरेका छन् भन्ने एकीन तथ्यांक छैन ।
नेपालमा ग्रीन फाइनान्सिङका लागि एक/दुई बैंक बाहेक अरुले विदेशबाट लगानी भित्र्याउन नसकेको वाणिज्य बैंकका एक सीईओले बताए । ‘ग्रीन फाइनान्सिङको लागि नेपालमा एकआध बैंक बाहेकले विदेशी लगानी ल्याउन सकेका छैनन्,’ उनले भने, ‘बैंकहरूले ल्याउने विदेशी ऋणमा नियामकको नीतिगत कडाइ, लगानीको जोखिम, लगायतका कारणले बढाउन नसकेको हुन सक्छ ।’
पछिल्लो समय वित्तीय संस्थाहरूले विद्युतीय सवारी साधनको प्रयोग बढाउन ईभी खरिदका लागि कम ब्यजदरमा कर्जाको स्कीम ल्याइरहेका छन् ।
हालसम्म वित्तीय संस्थाहरूले हायर पर्चेज लोन अन्र्तगत सवारी साधनमा डेढ खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यद्यपि, विद्युतीय सवारीमा मात्र कति रकम प्रवाह गरे भन्ने एकीन तथ्यांक छैन । तर, विद्युतीय संरचना निर्माणको सुरुआतसँगै ईभीको प्रयोग केही हदसम्म बढ्दै गएको देखिन्छ ।
विश्वव्यापी प्रयास
ग्रीन इन्धनको रूपमा कतिपय देशहरूले डाइड्रोजन ग्यासको प्रयोग गरिरहेका छन् भने विद्युत उत्पादनको उच्च सम्भावना भएका नेपाल जस्ता देशहरूले लगानी र सम्भाव्यता खोजिरहेका छन् ।
संयुक्त राष्ट्र संघको ७० औं महासभाले विश्वमा कार्बन उत्सर्जन न्यूनीकरण गरेर दिगो विकास हासिल गर्नका लागि सन् २०१६ देखि २०३० सम्म सस्टेनेबल डेभलपमेन्टको लक्ष्य पारित गरेर कार्यान्वयन गरिरहेको छ ।
पेट्रोलियम इन्धनको खपतलाई विस्थापित गरेर हरित गृह ग्यास उत्सर्जन शून्यमा झार्ने लक्ष्य सहित संयुक्त राष्ट्रसंघमा आबद्ध देशहरूले विभिन्न प्रतिबद्धता र कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ।
नेपालले पनि कोप सम्मेलन, जलवायु परिवर्तन सम्मेलन जस्ता अन्तर्राष्ट्रिय सम्मेलनमा ग्रीन इनर्जीको उत्पादन र खपत बढाएर कार्बन उत्सर्जन न्यूनीकरण र जलवायु परिवर्तनका एजेण्डा उठाउँदै आएको छ ।
पन्ध्रौं योजनाले विद्युतीय चुल्हो, वायो ग्यास, नवीकरणीय ऊर्र्जा लागायत ग्रनि इनर्जीको उत्पादन र उपयोग बढाउने लक्ष्य लिएको छ ।