काठमाडौं । होलसेल (थोक) कारोबार गर्ने लघुवित्तहरूको खुद नाफामा उल्लेख्य सुधार आएको छ । बैंक तथा वित्तीय संस्थामा भएको तरलता अभाव र ब्याजदर वृद्धिका बाबजूद होलसेलर लघुवित्तको नाफामा उच्च वृद्धि भएको हो ।
नेप्सेमा सूचीकृत ५८ लघुवित्त मध्ये साना किसान, आरएमडीसी, आरएसडीसी र फर्स्ट माइक्रोफाइनान्सले मात्र होलसेल कारोबार गर्छन् । होलसेल कारोबार गर्ने ४ लघुवित्तहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफा औसतमा ३९.४० प्रतिशतले बढेको छ ।
पुस मसान्तसम्म ४ लघुवित्तले कुल ८६ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा २१ करोड ९७ लाख रुपैयाँ बढी हो । यी लघुवित्तले गत वर्षको दोस्रो त्रैमाससम्म ६४ करोड ५६ लाख रुपैयाँ नाफा कमाएका छन् ।
खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा होलसेलर लघुवित्तको नाफामा सुधार आएको हो । यस अवधिमा खुद्रा कारोबार गर्ने लघुवित्तहरूको नाफामा ठूलो गिरावट आए पनि होलसेलर लघुवित्तको नाफामा भने उल्लेख्य वृद्धि भएको छ ।
समीक्षा अवधिमा ४ लघुवित्तमध्ये साना किसान लघुवित्तले सबैभन्दा धेरै ४३ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । साना किसानको नाफा गत वर्षको सोही अवधिको तुलनामा ३४.३३ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा आरएसडीसी लघुवित्तले सबैभन्दा कम ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा आरएसडीसीको नाफा ६२.३४ प्रतिशतले बढेको छ ।
अधिकांश सूचकमा साना किसानको वर्चश्व
होलसेलर ४ लघुवित्तमध्ये वासलतका अधिकांश सूचकहरूका सानाकिसान लघुवित्तको वर्चश्व रहेको छ । चुक्ता पूँजी, जगेडा कोष, निक्षेप, कर्जा लगानी, खुद ब्याज आम्दानी, संचालन नाफा, खुद नाफा लगायत सूचकमा साना किसान अगाडि रहेको छ ।
४ लघुवित्तमध्ये साना किसानको चुक्ता पूँजी सबैभन्दा धेरै १ अर्ब ५६ करोड रहेको छ भने यसको जगेडा कोष ३ अर्ब ४ करोड रुपैयाँ संचित छ । यस्तै, समीक्षा अवधिसम्म साना किसानले ३० अर्ब ८२ करोड कर्जा लगानी गरेको छ । यो आरएसडीको तुलनामा ५ गुणा बढी हो ।
समीक्षा अवधिमा साना किसानले सबैभन्दा धेरै ८४ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस अवधिमा यसको संचालन मुनाफा ६२ करोड ३ लाख रुपैयाँ छ ।
यस्तै, सेयर लगानीकर्ताले मुख्य चासोका साथ हेर्न प्रतिसेयर आम्दानी साना किसानै सबैभन्दा धेरै छ । यसको प्रतिसेर आम्दानी ५५.६१ रुपैयाँ छ ।
खराब कर्जा भने आरएमडीसीको सबैभन्दा कम छ । यसको खराब कर्जा ०.१६ प्रतिशत मात्र रहेको छ । खराब कर्जा साना किसानको सबैभन्दा धेरै १.३७ प्रतिशत रहेको छ ।