डलर संचितिमा उच्च सुधार, एक महिनामै ढुकुटीमा थपियो ४८ करोड डलर

काठमाडौं । अमेरिकी डलर संचितिमा लगातार सुधार आएको छ । सरकारले पुसदेखि आयात खुलाए पनि त्यसका बाबजूद डलर संचितिमा सुधार आएको हो ।

चालु आर्थिक वर्ष सुरु भए यता लगातार ओरालो लागेको डलर संचिति असोजदेखि भने लगातार बढ्दो क्रममा रहेको हो । पछिल्लो एक महिनाको अवधिमा राष्ट्रिय ढुकुटीबाट ४८ करोड डलर थपिएको ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको छैटौं महिना (पुस)को तथ्यांक अनुसार मंसिरको तुलनामा पुसमा डलर संचिति ६७ करोडले बढेको हो ।

डलर संचितिमा सुधार आएको यो लगातार चौथो महिना हो । राष्ट्रिय ढुकुटीमा असोजमा १३ करोड, कात्तिकमा १५ करोड र मंसिरमा १९ करोड डलर थपिएको थियो ।

मंसिर मसान्तसम्म डलर संचिति ९ अर्ब ८२ करोड रहेकोमा पुस मसान्त आइपुग्दा ४८ करोडले बढेर १० अर्ब ३० करोड पुगेको छ । २०७९ असार मसान्तसम्म राष्ट्रिय ढुकुटीमा ९ अर्ब ५४ करोड डलर संचिति थियो ।

यस्तै, समग्र विदेशी मुद्रा संचितिमा पनि सुधार आएको छ । २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०.० प्रतिशतले वृद्धि भई २०७९ पुस मसान्तमा रु.१३३७ अर्ब २९ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ पुस मसान्तमा १२.० प्रतिशतले वृद्धि भई रु.११८३ अर्ब ३७ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ पुस मसान्तमा ३.४ प्रतिशतले कमी आई रु.१५३ अर्ब ९१ करोड कायम भएको छ । २०७९ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ ।

 

नेप्सेमा सामान्य अंकको बढोत्तरी, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

नेप्सेमा सामान्य अंकको बढोत्तरी, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

चक्रपथमा बिजुली बस सञ्चालन बारे १३ कम्पनीको आवेदन रद्द, फेरि टेन्डर आह्वान Read Next

चक्रपथमा बिजुली बस सञ्चालन बारे १३ कम्पनीको आवेदन रद्द, फेरि टेन्डर आह्वान