काठमाडौं । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गए पनि केही बैंकहरू भने थप ऋण लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
बैंकहरूको निक्षेप-कर्जाको अनुपात (सीडी रेसियो)नेपाल राष्ट्र बैंकले तोकेको सीमा नजिक पुगेपछि थप कर्जा लगानी विस्तार गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।
बैैंक तथा वित्तीय संस्थाहरूले सीडी रेसियो ९० प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको व्यवस्था छ । तर, चालु आवको दोस्रो त्रैमाससम्म ठूला बैंकहरूको सीडी अनुपात सोही अनुपात हाराहरीमा पुगेको छ । जसकारण केही बैंकहरूलाई व्यवसाय विस्तार गर्न समस्या भएको हो ।यद्यपि, पछिल्लो समय कर्जाको ब्याजदर महँगो भएको भन्दै ऋणको माग नरहेको बैंकरहरू बताउँछन् ।
वाणिज्य बैंकहरूको चालु वर्षको पुसमसान्तसम्म औसतमा सीडी रेसियो ८६.४० प्रतिशत छ । जबकी गत वर्षको सोही अवधिमा यस्तो अनुपात ८९.६३ प्रतिशत थियो । गत वर्षको तुलनामा प्रणालीमा निक्षेप बढे पनि सहज भने नभएको बैंकरहरू बताउँछन् ।
औसतमा सीडी रेसियो तोकेभन्दा साढे ३ प्रतिशत तल रहे पनि केही ठूला बैंकहरूको भने सीमा नजिक पुगेकाले असहज अवस्थामा छ् । ‘ठूला बैंकहरू ऋण दिनसक्ने अवस्थामा छैनन् । सीडी रेसियो राष्ट्र बैंकले तोकेभन्दा बढी छ’, नेपाल बैंकर्स संघका एक सदस्य भन्छन्, ‘ स्रोत भएका संस्थामा पनि कर्जा माग भएको देखिँदैन । यो अहिले सबै संस्थाको समस्या हो ।’
ग्लोबल आइएमई, नबिल, प्राइम लगायत ठूला बैंकहरू सीडीको दबाबमा छन् । बैंकहरूले प्रकाशित गरेको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार ग्लोबल आइएमई बैंकको सीडी रेसियो ८९.४३ प्रतिशत, नबिलको ८८.९१ र प्राइम कमर्सियल बैंकको ८८.८९ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत बिहीबार सम्म औसतमा बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८६.५ प्रतिशत छ । हाल बैंकहरूले ८० प्रतिशतसम्म स्थानीय तहको रकम निक्षेपमा गणना गरिरहेका छन् । जसले बैंकको सीडीमा राहात पुर्याएको छ ।
चालु वर्षमा संस्थाहरूले कुल १ खर्ब बढी कर्जा लगानी गरेका छन् । जुन लक्ष्यको तुलनामा न्यून हो । संस्थाहरूमा देखिएको स्रोत भाव र माग संकुचनले वित्तीय व्यवसाय मात्र नभएर अर्थतन्त्रका अन्य क्षेत्रमा समेत समस्या देखिएको छ ।
कुन बैंकको कत्ति सीडी रेसियो ?
चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा धेरै सीडी रेसियो हुने वाणिज्य बैंकमा ग्लोबल आइएमई पहिलो नम्बरमा रहेको छ । यस बैंकको सीडी ८९.४३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा यस बैंकको सो अनुपात ९०.७३ प्रतिशत पुगेको थियो ।
नबिल बैंकको निक्षेप र कर्जाको अनुपात ८८.९१ प्रतिशत प्रतिशत छ । गत वर्षको तुलनामा यस बैंकको कर्जा लगानीका लागि स्रोत सहज भए पनि पर्याप्त रकम भने नरहेको प्रकाशित वित्तीय विवरणले देखाउँछ ।
प्राइम कमर्सियल, प्रभु बैंक पनि कर्जा लगानीको हिसाबले दबाबमै छन् । कृषि विकास, एसबीआई, एनएमबी, इन्भेष्टमेन्ट मेगा, हिमालयन र सिभिल बैंकको यस्तो अनुपात ८७ प्रतिशत माथि छ ।
कर्जा लगानीका लागि सबैभन्दा धेरै स्रोत विदेशी लगानीको बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंकसँग छ । यस बैंकको निक्षेप र कर्जाको अनुपात ७८.६ प्रतिशत रहेको छ । गत वर्ष यस बैंकको सीडी रेसियो ८७.९२ प्रतिशत रहेको थियो ।
यसैगरी नेपाल बैंकको ८२, एनआइसी एशिया, सानिमा र सिद्धार्थ बैंकले सीडी अनुपात ८३/८३ प्रतिशत कायम गरेका छन् ।