१४ उद्योगले पाए नेपाल गुणस्तर प्रमाण चिन्ह

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले १४ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा सरकारले नेपाल गुणस्तर लिन अनिवार्य गरेका १४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको हो ।

विभागले चालु आवमा सिमेन्ट, टीएमटी छड, रङ, एचडिपीई पाइप, सीपीभीसी पाइप, यूपीभिसी पाइप, जस्मिन हाईजिन सेनिटरी पाइप, पेभर्स लकलगायतलाई गुणस्तर प्रमाण चिह्न प्रदान गरेको हो ।

विभागका महानिर्देशक दिनानाथ मिश्रले पछिल्लो समयमा गुणस्तर चिह्नप्रति उद्योगी व्यवसायीको भरोसा बढ्दै गएको बताए । ‘अघिल्ला वर्षको तुलनामा पछिल्लो समय नेपाल गुणस्तर प्रमाण चिन्ह लिने उद्योगको सङ्ख्या राम्रो हुँदै गएको छ,’ उनले भने ।

चालु आवमा रङ, सिमेन्ट, पाइपलगायतका वस्तुमा गुणस्तर प्रमाण चिह्न लिनेको सङ्ख्या बढेको उहाँको भनाइ छ । सिमेन्ट, छड, एलपीजी सिलिन्डर, रेगुलेटर, ग्यास पाइप, जीआई वायर, पीभीसी केबुललगायत १५ वस्तुमा सरकारले गुणस्तर चिन्ह अनिवार्य गरेको छ ।

विभागले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ अनुसार इजाजतपत्र प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको ६ महिनामा प्राविधिक समितिबाट १६ वस्तु तथा उद्योगको गुणस्तर पारित गरेको छ । प्राविधिक समितिबाट पारित भएको वस्तु तथा उद्योगको गुणस्तर परिषद्मा पठाउने गरिन्छ ।

उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्रीको अध्यक्षतामा बस्ने गुणस्तर परिषद्को बैठक बस्न नसक्दा सो अवधिमा एउटा पनि गुणस्तर पारित नभएको विभागले जनाएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागको कार्यक्षेत्र धेरै भए पनि कर्मचारी कम हुँदा काम गर्न समस्या भएको छ । विभागमा हाल विभिन्न वस्तुको गुणस्तर मापन गर्नका लागि केमिकल, फिजिकल र टेक्सटाइल प्रयोगशाला छन् ।

सरकारबाट बाहिरिनेको रास्वपाको निर्णय, समर्थन भने कायमै रहने Read Previous

सरकारबाट बाहिरिनेको रास्वपाको निर्णय, समर्थन भने कायमै रहने

आइएमई पेको 'मन्थ अफ लभ' अफर Read Next

आइएमई पेको 'मन्थ अफ लभ' अफर