काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालयमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारबाट बाहिरिने निर्णय गरेसँगै रास्वपाले आफ्ना सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । रास्वपा सरकारबाट बाहिरिए पनि तत्काल सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने भएको छ ।
नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णय गरेको हो ।
रास्वपाका तर्फबाट अहिले शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, डोलप्रसाद आचार्य श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री छिन् ।