कौशी खेतीबाटै व्यवसायिक यात्रामा लाग्दै पवित्रा, विदेशसम्म पुग्छ उत्पादन

काठमाडौं । नेपाल कृषिप्रधान मुलुक भनिए पनि वर्षेनी ४ खर्ब बढीको खाद्यान्न, तरकारी, फलफूल लगायत उपभोग्य वस्तु आयात हुँदै आएको छ । त्यसमध्ये झन्डै ५० अर्ब बढीको तरकारी मात्रै आयात हुन्छ ।

नेपालमै प्रचुर मात्रामा तरकारी उत्पादन गर्न सकिने भए पनि सिचाइँ अभाव, बजार अभाव, बिचौलियाको प्रभाव लगायत कारणले उत्पादन बढाउन नसक्दा भारतबाट आयात गरिँदै आइएको छ ।

गाउँघरका करेसाबारीदेखि सहरका खाली घडेरीमा पनि तरकारी खेती गर्न सकिन्छ । व्यवसायिक रूपमा तरकारी खेती नगरे पनि सबैले आफूलाई पुग्ने तरकारी उत्पादन गर्ने हो भने अर्बौं रकम बचत हुने देखिन्छ । यसतर्फ राज्यले नीतिगत रूपमा प्रोत्साहन गर्न सकेको छैन भने आम नागरिक पनि आकर्षित छैनन् ।

तर, पछिल्लो समय भने सहरमा पनि आफ्ना लागि तरकारी खेती गर्ने बढ्दै गएका छन् । यसको पछिल्लो उदाहरण हो कौशीखेती । कोभिडपछि काठमाडौंसहित देशका अधिकांश ठूला सहरमा पनि कौशीखेती फस्टाउँदै गएको छ । फुसर्दको समयको उपयोग हुने, बजारको विषादी तरकारी आन नपर्ने, तरकारी किन्न नपर्ने जस्ता फाइदा देखेपछि कौशीखेती गर्नेका संख्या बढ्दै गएको छ ।

यस्तै, कौशीखेतीबाट व्यवसायिक कृषि कर्ममा लागेकी एक व्यक्ति हुन् पवित्रा भण्डारी । ७/८ वर्षअघि कौशीखेती सुरू गरेकी उनले अहिले कौशीखेतीलाई अभियानको रूपमा अघि बढाइरहेकी छिन् ।काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९, काँडाघारी बस्ने उनी कौशीखेतीबाटै भान्छाको तरकारी आपूर्ति गछिन् । उनले आफ्नो घरको कौशी र बाल्कनी सबै तिर गमला, जार, बोरा लगायतका विभिन्न भाँडामा तरकारी खेती गरेकी छन् ।

एसएलसी सकेपछि कृषि पढाइ गरेकी उनले कृषिमा मास्टर्स गरेकी छन् । कृषिमा रुची राखेकी उनी २०४५ सालमा विवाह बन्धनमा बाँधिएकी थिइन् । उनले भाडामा बस्दा समेत आगन, बालकनी जस्ता ठाउँमा गमला, जारमा थोरै भए पनि खेती गर्ने गरेको बताइन् । २०५९÷६० मा १० आनामा बनेको आफ्नै घरको कौशी र खुल्ला ठाउँमा तरकारीसँगै फलफूल खेती गर्न थालेको बताइन् ।

बिहानदेखि बेलुकासम्म कौशी खेतीमै तल्लीन उनीे अहिलेसम्म बजारमा गएर तरकारी किन्नु नपरेको बताइन् । उनले आफ्नो कौशीमा गोलभेँडा, काँक्रो, ब्रोकाउली, धनियाँ, कागती, सुन्तला, ड्रयागन फुड, पुदिना, मुन्तला, भेडेखुर्सानी, लहरे आप, गोजबेरी, अमला, जुनार, लसुन, गाजर, कुरिलो, लगायतका झण्डै २५ थरी बढी तरकारी तथा फलफूलका ३०० बोट लगाएकी छन् ।

उनले सिजन अनुसार सबै प्रकारका तरकारी, तथा फलफूल उत्पादन गर्दै आएको बताइन् । ‘पहिला भाडामा बस्दा पनि जहाँ खाली ठाउँ छ त्यहाँ बोरा, जारमा तरकारी रोप्ने गर्थें, घर बनेपछि खेती गर्न झन सजिलो भयो, अब व्यवसायिक रुपमै लाग्दै छु,’ भण्डारीले चाणक्य पोष्टसँग भनिन् ।

उनले श्रीमानले समेत कौशी खेतीमा सहयोग गर्ने गरेको बताइन् । कौशी खेतीकै क्रममा उनलाई विभिन्न कृषि कम्पनीहरूले बिरुवा र पूर्वाधार समेत प्रदान गरेको उनले बताइन् । हाल आएर उनले निउटेसन लिक्वीडबाट पाइपमा पानीको माध्यमबाट साग रोपेकी छन् ।

सबै कौशीखेतीमा लाग्नुपर्छ

कृषिमै माष्टर डिग्री हासिल गरेकी उनी इच्छा भए सबै महिलाहरूले समय मिलाएर कौशी खेती गर्न सक्ने बताउँछिन् । कागेश्वरीमनहरा नगरपालिकाबाट कौशी खेतीका लागि सम्मानीत भएकी उनी सबैलाई कौशी खेती गर्न प्रोत्साहन गर्छिन् ।

उनले विभिन्न स्थानमा पुगेर कौशी खेतीकै लागि तालिम समेत दिएकी छन् । उनले कौशी खेती सुरू गरेपछि कागेश्वरी नगरपालिकामा २५ जना महिलाहरूले कौशी खेती सुरू गरेको बताइन् ।

उनले हालसम्म निजी संस्थाहरूले सहयोग गरे पनि राज्यबाट कुनै सहयोग नपाएको बताइन् । ‘मैले कौशी खेती गरेको देखेर यहाँ वरिपरीका सबै दिदी बहिनी समेत लाग्नु भएको छ, मैले धेरै ठाउँमा तालिम पनि दिएको छु,’ उनले भनिन् ‘धेरै निजी क्षेत्रले हामीलाई सहयोग गरेका छन्, तर सरकारले यसलाई अझै हेरेको छैन ।’

ड्रयागन फ्रुडको व्यवसायिक खेती

सधैं आफ्नै कौशीमा उत्पादन भएको वस्तुलाई छरछिमेक र आफन्तलाई उपहारका रूपमा विरुवा र फल बाढ्दै आएकी उनी हाल आएर व्यवसायिक खेतीतर्फ लाग्न थालेकी छन् । उनले विशेष गरी ड्रयागन फ्रुड र त्यसको विरुवाको व्यवसायिक खेती सुरू गरेको बताइन् ।

नमूनाको रूपमा विकास हुँदै गरेको उनको कौशीमा ३०० बोट ड्रयागन फ्रुटको विरुवा रहेको छ । उनले त्यसबाट उत्पादन हुने ड्रयागन फ्रुटका विरुवा विक्री गर्दै गरेको बताइन् ।

उनले हालसम्म आफूले उत्पादन गरेको मध्ये ५०० बोट फ्रीमा छिमेकी तथा आफन्तहरूलाई बाडेको बताइन् । १०० बोटबाट उत्पादन भएको ड्रयागन फ्रुटबाट थप विरुवा जम्मा गर्दै विक्री सुरू गरेको बताइन् ।

उनले धेरै बोट विरुवा किन्नेलाई १०० देखि १५० रुपैयाँसम्ममा विक्री गर्ने गरेको बताइन् । अधिक तम ५०० रुपैयाँसम्ममा उनले ड्रयागन फ्रुटका विरुवा विक्री गरेकी छन् । उनलाई अन्य नर्सरीहरूले अनुदानका रूपमा ड्रयागन फ्रुटको विरुवा दिने गरेका छन् ।

उनले ५०० ड्रयागन फ्रुटको विरुवाका लागि धनगढीबाट समेत अर्डर आएको बताइन् । उनले ड्रयागन फ्रुटका विरुवा नेपालमा मात्र नभई विदेशमा समेत पुर्याएको बताइन् । उनका अनुसार उनले कोरिया, अष्ट्रेलीया, बेलायत, अमेरीकालगायतका देशमा विरुवा पुर्याएकी छन् । नमूना कौशी खेतीको रूपमा रहेको उनको कौशीमा दैनिक ३०० हाराहारी मान्छेहरू अवलोकन गर्न आउने बताइन् ।

घरको फोहोर कौशीमै खपत

झण्डै १२ लाख रुपैयाँ हाराहारी कौशी खेतीमा लगानी गरेकी उनले घरमा उत्पादन हुने फोहोर सबै घरकै कौशी खेतीमा मलका लागि प्रयोग गर्ने गरेकी छन् । उनले मलका लागि आफ्नो घरमा उत्पादन हुने फोहोर पर्याप्त नभएका कारण छिमेकमै रहेको होटल तथा घरबाट च्यापत्ती, तरकारी अण्डाको बोक्रा लिने गरेकी छन् । उनले झण्डै ५÷६ ठाउँबाट यस्ता फोहोरहरू ल्याउने गरेको बताइन् ।

थाहा नभएको अवस्थामा कृषि विज्ञहरूको सहयोग लिने गरेकी उनले कौशी खेतीले विशेष गरी घरबाट निस्कने गरेको कुहिने फोहोरको धेरै सदुपयोग भएको बताइन् । उनले गएको पटक २०० केजी स्कुस फलाएकी थिइन् । १०० केजी बाडेरै सकेको उनले बताइन् । यस्तै उनले २० केजीसम्म अकबरे खुर्सानी फलाएको बताइन् । उनले उत्पादन भएको खुर्सानी सिसामा हालेर फ्रिजभरी राखेकी छन् ।

 

नेप्सेमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

नेप्सेमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

सरकारबाट बाहिरिनेको रास्वपाको निर्णय, समर्थन भने कायमै रहने Read Next

सरकारबाट बाहिरिनेको रास्वपाको निर्णय, समर्थन भने कायमै रहने