काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट आएको छ । लघुवित्तले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३७.२४ प्रतिशतले घटेको छ ।
लघुवित्तले चालु आवको पुस मसान्तसम्ममा २६ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १६ करोड रुपैयाँ कम हो । लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा ४२ करोड १९ लाख खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र संचालन मुनाफामा गिरावट आउँदा लघुवित्तको नाफामा भारी गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.५३ प्रतिशत घटेर ७९ करोड ४५ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै, सञ्चालन मुनाफा ३७.२४ प्रतिशतले घटेर ३७ करोड ४२ लाखमा सीमित भएको छ ।
समीक्षा अवधिमा लघुवित्तले ९ अर्ब ९९ करोड निक्षेप संकलन र ९ अर्ब ९ करोड सापटी लिई कुल २३अर्ब २४ करोड ऋण लगानी गरेको छ । हाल १ अर्ब ३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ८५ करोड २८ लाख र रिटेन्ड अर्निङमा १ अर्ब १७ करोड रुपैयाँ संचित छ ।
नाफामा गिरावट आएसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा ठूलो गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १३८.७१ रुपैयाँबाट घटेर ५१.२० रुपैयाँमा झरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २९४.६९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५९.३४ गुणा र खराब कर्जा २.८३ प्रतिशत रहेको छ ।