काठमाडौं । केबलकारलाई पर्यटक आकर्षित गर्ने र सुविधा दिने यातायातको साधनको रुपमा लिइन्छ । केबलकारले पर्यटकीय गतिविधि समेत बढाउने पर्यटन व्यवसायीहरू बताउँछन् ।
पछिल्लो समय देशका प्राकृतिक तथा धार्मिक महत्व बोकेका गन्तव्यहरूमा केबलकार बनाउने लहर नै चल्न थालेको छ । हिँडेर जान केही कठिनाइ भएका तर, पर्यटकीय सम्भावना बोकेका ठाउँमा धमाधम केबलकार बन्न थालेका हुन् ।
हाल देशका आधा दर्जन ठाउँहरूमा केबलकार निर्माणाधीन अवस्थामा छन् भने १ दर्जन ठाउँमा केबलकार निर्माणका लागि अध्ययन भइरहेका छन् । निर्माणाधीन अवस्थामा रहेका तीन केबलकारको काम अन्तिम चरणमा पुगेको छ ।
आगामी फागुनभित्रै आइएमई समूहले निर्माण गरिरहेको मौलाकालिका र लुम्बिनी केबलकार संचालनमा आउने भएका हुन् । त्यस्तै, तनहुँमा निर्माणाधीन बन्दीपुर केबलकार पनि वैशाखभित्रै संचालनमा आउने बताइएको छ ।
हाल देशका ४ स्थानमा केबलकार संचालनमा छन् । गोरखाको मनकामना, दोलखाको कालिञ्चोक, काठमाडौंको चन्द्रागिरि र कास्कीको साराङकोटमा केबलकार संचालनमा छन् ।
लुम्बिनी केबलकार फागुनदेखि संचालनमा
रुपन्देहीको बुटवलदेखि पाल्पाको वसन्तपुरसम्म निर्माणाधीन लुम्बिनी केबलकार आगामी फागुनदेखि संचालनमा आउने भएको छ । हाल केबलकार निर्माणको ७५ प्रतिशत बढी काम सम्पन्न भइसकेको लुम्बिनी केबलकार प्रालिले जनाएको छ ।
कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरूको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको बताए ।‘केबलकार टावरहरूको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ । टप स्टेशनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडि बढिरहेको छ,’ उनले भने, ‘माघ भित्रै सबै काम सम्पन्न गरी फागुनदेखि संचालनमा ल्याउने तयारी गरिरहेका छौं ।’
उनले केबलकारको सम्पूर्ण गोण्डोला लगायतका उपकरणहरूको विदेशबाट आयत गरिसकिएको बताए । केबलकोरको ९ वटा टावर मध्ये ८ वटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी एउटा टावरको जडान कार्य पनि अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।
त्यस्तै, टप स्टेशनमा केबलकार उपकरणहरूको जडान कार्य सम्पन्न भइसकेको छ भने बटम स्टेशनमा केबलकार उपकरणहरूको जडान कार्य अगाडि बढिरहेको ढकालले जानकारी दिए ।
साथै, उनले सम्पूर्ण इलेक्ट्रोमेकानिकल कार्यहरूको निर्माण तथा जडान गर्ने कार्य द्रुतगतिमा अगाडि बढिरहेको समेत बताए । यो केबलकार परियोजनाको निर्माण कार्य २०७८ साल पुसमा सुरू भएको थियो ।
मौलाकालिका केबलकार पनि फागुनदेखि संचालनमा आउने
आइएमई समूहकै लगानीमा निर्माण भइरहेको मौलाकालिका केबलकार पनि आगामी फागुनभित्रै संचालनमा ल्याइने भएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिका वडा नं. १ देखि मौलाकालिका मन्दिरसम्म पुग्ने केलकार निर्माण अन्तिम चरणमा पुगेको छ ।
निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने बताएको छ । यो केबलकार गत पुसभित्रै संचालनमा ल्याउने गरी २०७८ जेठदेखि निर्माण सुरू गरिएको थियो । कोभिडलगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको कम्पनीले जनाएको छ ।
होटलबाहेक केबलकारका लागि आवश्यक सबै भौतिक संरचना निर्माण भइसकेको छ भने इन्जिनीयरिङको काम भइरहेको छ । आइएमइ समूहले डेढ अर्ब लगानीमा यो केबलकार निर्माण गरिरहेको हो । मौलाकाली मन्दिर नजिकै रहेको हेलिप्याडमा ५० कोठाको होटल, लज पनि निर्माणाधीन अवस्थामा रहेको छ । मन्दिर नजिकै रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण हुनेछ भने मौलाकालिका फेदीमा रहेको धारापानीमा बटम स्टेशन रहेको छ ।
केबलकारले एकतर्फी लम्बाइ १ हजार २०० मिटर लामो हुनेछ । यसका लागि ६ टावर निर्माण गरिनेछ । केबलकारमा १४ डब्बा राखेर यात्रु ओसारिने जनाइएको छ । केबलकारमा थप एउटा सामान बोक्ने र अर्को एउटा सर्भिसिङ डब्बा हुनेछन् । एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ ।
केबलकार सञ्चालनमा आएपछि प्रतिदिन ६ हजार यात्रु आवतजावत गराउन सकिने कम्पनीको विश्वास छ । केबलकार आयोजनामा ५१ प्रतिशत सेयर मुख्य लगानीकर्ता आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहने छ ।
बन्दीपुर केबलकार निर्माण अन्तिम चरणमा
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकारको काम अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि व्यावसायिक रुपले सञ्चालनमा ल्याउने तयारी गरिएको केबलकारको काम अन्तिम चरणमा पुगेको हो ।
पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म करिब ८५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजमले जनाएको छ । कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले केबलकारको टावरको काम सकिएको बताए । अहिले इन्जिन जडानको काम भइरहेको उनले बताए।
विसं २०७५ साउनदेखि निर्माण सुरू भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ भएको उनले बताए । आगामी वर्षको मङ्सिरभित्र पाँचतारे होटल र माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहितको हुने छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ ।
केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु २ अर्ब ६० करोड पुगेको जनाइएको छ । यस अगाडि केबलकारको क्षमता प्रतिघण्टा ३०० रहेकामा त्यसलाई बढाएर ५०० पुर्याइएको छ । होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुर्याइएको छ । दश तलाको होटलसहितको भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठा हुनेछन् । होटलको पूर्वाधारको काम सकिएको र फिनिसिङको काम बाँकी छ ।
बन्दीपुर–४ ठुल्ढुङ्गाबाट सुरू हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले १ किलोमिटर ६०० मिटर यात्रा गर्नेछ ।