काठमाडौं । ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणमा ढिलाइ भएको छ । फ्लाइओभर निर्माणको ठेक्का पाएको एम/एस आशिष-समानान्तर (जेभी)ले निर्माण सामग्री ल्याउन नसकेका कारण काम सुरू हुन ढिलाइ भएको हो ।
निर्माण कम्पनीले मंसिर अन्तिमदेखि फिल्डमा काम सुरू गर्ने बताएको थियो । सबै निर्माण सामग्री नजुटाइ काम थाल्दा सवारी व्यवस्थापनमा समस्या हुने र सामग्री जुटेपछि काम सुरू गर्ने बताएको थियो । तर, हालसम्म निर्माण सामग्री जुटाउन नसक्दा फिल्डमा काम सुरू हुन नसकेको हो ।
ठेकेदार कम्पनीले सबै निर्माण सामग्री तयार नभएका कारण काम सुरू गर्न ढिलाइ गरेको सडक विभागले जनाएको छ । सडक विभाग अन्तर्गतको गुणस्तर तथा अनुसन्धान केन्द्रका इन्जिनीयर रवीन्द्र श्रेष्ठले केही निर्माण सामग्री भारत र फ्रान्सबाट ल्याउनु पर्ने भएकोले निर्माण सुरू गर्न ढिलाइ भएको बताए ।
‘पछिल्लो पटक निर्माण कम्पनीले माघदेखि काम सुरू गर्ने बताएको थियो । अझै काम सुरू हुन सकेको छैन,’ उनले चाणक्य पोष्टसँग भने, ‘ फ्लाइओभरका लागि आवश्यक फलामका डण्डी लगायत केही निर्माण सामग्री विदेशबाट ल्याउनुपर्छ । त्यो आइ नपुगेकाले काम सुरू हुन नसकेको हो ।’
विदेशबाट निर्माण सामग्री आइपुग्ने बित्तिकै काम थाल्ने गरी निर्माण कम्पनीले तयारी गरिरहेको उनले बताए । निर्माण व्यवसायीले जिओस्टाब, एनओसीएल वालमा लगाउने एङकर, टेन्डर वायर लगायतका निर्माण सामग्री भारत र फ्रान्सबाट मगाएको छ । जिओस्टाब कोलिमरको फलामको हुने भएकाले फ्लाइओभर निर्माणमा यसको प्रयोग धेरै हुने उनले बताए ।
एनओसीएल फलामको ढिक्का जस्तो हुन्छ त्यो फ्रान्सबाट आउने तयारी भइरहेको उनले बताए । साइटमा फर्मा राखेर ढलानको प्रिकास्ट एम्बेस वालको प्यानल बनाउँदै पछि अर्को खप्टाएर वाल लगाउने काम गरिने उनले जानकारी दिए । उनले यी सबै सामान जुटाएर गर्दा निर्माणको काम छिटो सकिने बताए ।
डिजाइन परिवर्तन हुँदैन, सामान आउने बित्तिकै काम सुरू हुन्छ
उनले फ्लाइओभरको कुनै पनि डिजाइन परिवर्तन नगरिने बताएका छन् । फ्लाइओभर निर्माण सडकको ४ लेनमा हुने भएका कारण डिजाइन परिवर्तन अफवाह मात्र भएको बताए ।
मंगलबजार तर्फ जानलाई फ्लाइओभर घुमाउरो बनाउन नपुग्ने भएकाले डिजाइन परिवर्तन गर्ने जस्ता कुरा आए पनि त्यसो गर्ने गरी डिजाइन नबनेको बताए । मंगलबजारतर्फ फ्लाइओभर जाँदा जमिन मुआब्जा दिई किन्नु पर्ने भएकाले त्यो निकै महंगो गर्ने र कुनै योजना नरहेको उनले स्पष्ट पारे ।
‘डिजाइन परिवर्तनका कारण निर्माण ढिलाइ भएको भन्ने कुरा गलत हो, सामान आइपुगेपछि काम सुरू हुन्छ,’ श्रेष्ठले भने ‘पहिला भए जति सामानमै काम सुरू गर्ने भनेर मोबिलाइज भइसकेको थियो तर, फेरि काम गर्दा गर्दा सामान अभाव भएर रोकियो भने ट्राफिक समस्या हुने भएकाले बरु ढिला भए पनि सबै सामान आएपछि काम सुरू गर्न लागेको हो ।’
उनले ढिलोमा अबको १ महिना भित्र फ्लाइओभर निर्माण सुरू हुने बताए । ६ मिटर उचाइ हुने फ्लाइओभरलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ । कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दाँयातर्फ र ११० मिटर बाँयातर्फ र्याम्प निर्माण गरिनेछ ।
यो फ्लाइओभर १७ करोड ६८ लाख ८८ हजार ८०८ रुपैयाँ लगानीमा फ्लाइओभर निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।