कावासोती । नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य मार्गका रुपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको भौतिक प्रगति ८ प्रतिशत पुगेको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको गत वैशाखबाट निर्माण सुरु गरिएको थियो ।
नवलपुरको झ्यालबास हुँदै डेढगाउँ र डेढगाउँबाट तनहँकोु मानपुर फुला सडकमा जोडिएर पोखरासम्म पुग्ने यो सडकले जिल्लालाई प्रदेश राजधानी पोखरासँग जोड्ने छ । ३० महिनामा काम सम्पन्न गर्ने गरी लामा गौरीशङ्कर जेभीले विसं २०७९ वैशाखमा सडक निर्माणको जिम्मा पाएको थियो ।
रु ५१ करोड लागतमा निर्माण गरिने भनिएको भए पनि निर्माण कम्पनीले रु ३२ करोडमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको पूर्वाधार विकास कार्यालय नवलपुरका इन्जिनियर विष्णु पौडेलले जानकारी दिए ।
नवलपुरको झ्यालबासदेखि डेढगाउँसम्म १४.१ किलोमिटर लम्बाइ रहेको सडक दुई लेनको बन्ने तथा कालोपत्रको भाग सात मिटरको रहने इन्जिनियर पौडेलले जानकारी दिए । उनका अनुसार अहिले दैनिक रुपमा ४० देखि ५० कामदारले काम गरिरहेको र डाँडा काट्ने काम भइरहेको छ । ‘अहिले बाटो फराकिलो पार्ने, डाँडा काट्ने र माटो हालेर पुर्नुपर्ने ठाउँमा काम भइरहेको छ,’ पौडेलले भने ।
गत वैशाखमा सम्झौता भएको भए पनि वर्षाको समयमा काम गर्न नसकिएको र निर्माण सामाग्री पर्याप्त नभएकाले अपेक्षित भौतिक प्रगति हुन नसकेको लामा गौरीशङ्कर जेभीका सञ्चालक पेमा लामाले बताए ।
सडक निमार्णका लागि कालीगण्डकी नदीबाट गिट्टी, बालुवा निकाल्न पाइने भनिएको तर त्यहाँबाट निकाल्न नपाउँदा निर्माणको कामले गति लिन नसकेको लामा बताउँछन् । ‘नजिकै रहेको कालीगण्डकी नदी तथा अन्य खोलाबाट गिट्टी बालुवा निकाल्न पाइएको छैन, त्यसैले काममा ढिलाइ भएको छ, टाढाबाट ल्याउँदा लागत बढी पर्छ, नजिकका खोलाबाट निर्माण सामग्री निकाल्ने व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गरेका छौँ,’ लामाले भने ।
नवलपुरलाई प्रदेश राजधानी पोखरा जोड्ने सबैभन्दा छोटो दूरीको सडकका रुपमा निर्माण हुन लागेको यस सडकले नवलपुरको दुम्किबास हुँदै गण्डकी प्रदेशको भारतसँगको एक मात्र नाका त्रिवेणीलाई प्रदेश राजधानीसँग जोड्ने छ । त्रिवेणी-कोरला जोड्ने गण्डकी प्रदेश सरकारको गौरवको योजनाको एउटा खण्ड रहेको यो सडक निर्माण सम्पन्न भएपछि नवलपुरको पहाडी क्षेत्रका जनताको आर्थिक स्तर उकासिने मात्रै नभएर सम्रग नवलपुरको विकासको आधारशिला बन्ने निवर्तमान प्रदेशसभा सदस्य विष्णु लामिछानेले बताए।
गण्डकी प्रदेशका निर्वमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले गत वर्ष फागुन १० गते शिलन्यास गरेको सडक वि.सं. २०८१ असोजसम्ममा सम्पन्न हुने जनाइएको छ । रासस