आगामी चुवानमा म कसैको पक्ष/विपक्षमा छैन, कार्यकाल २ वर्षमा झार्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चुनावमा आफू कुनै पनि व्यक्ति/प्यानलको पक्षविपक्षमा नरहेको बताएका छन् ।

मंगलबार  बाराको सिमरामा आयोजित महासंघकाे मधेश प्रदेश विशेष साधरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महासंघको नेतृत्व चयनका लागि आगामी चैतमा निर्वाचन हुँदैछ । औपचारिक घोषणा नभए पनि सो निर्वाचनमा महासंघको वरिष्ठ उपाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिने तयारी गरेको आफूले सुनेको ढकालले बताए । चुनावमा ४ जना उठ्नुभन्दा पनि छलफलबाट एक जना मात्रै सहमतिमा उमेदवार बन्नुपर्ने उनले बताए ।

‘महासंघको नेतृत्व मिलेर अगाडि बढाउन म प्रतिबद्ध छु । म कुनै पक्ष विपक्षमा लागेर चुनावमा लाग्ने छैन, ढकालले भने, ‘अहिले वरिष्ठ उपाध्यक्षको चुनाव उठ्न चाहने ४ जनामध्ये एक जना छलफल गरेर एक जना आउनुस् ।’ महासंघको नेतृत्वमा आउन चाहने सबै आकांक्षीहरू जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।

उनले महासंघको कार्यसमितिको कार्यकाल समेत घटाउनु पर्ने बताए । उनले कार्यसमितको कार्यकाल २ वर्ष बनाउन आफूले साथीहरूसँग सल्लाह समेत गरेको बताए । अहिले महासंघ कार्य समितिको कार्यकाल ३ वर्ष रहेको छ । उनले जिल्ला नगर उद्योग वाणिज्य संघहरूले थप काम गर्नु पर्ने अवस्था उनले बताए ।

यस्तै, महासंघका वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्योग, व्यवसाय कोभिडकालभन्दा पनि कहालीलाग्दो अवस्थामा आइपुगेको बताए ।

उनले राज्यले तय गरेका नीतिले नै अर्थतन्त्रमा समस्या आएको बताए । ‘अहिले हामी कोभिडको कहाली लाग्दो अवस्थाबाट झन् कठिन अवस्थामा आइपुगेका छौं,’ श्रेष्ठले भने, ‘राज्यको नीतिले आर्थिक गतिविधिमा समस्या देखियो । त्यसलाई सच्याउन ढिला भएकै कारण चौतर्फी समस्या देखियो । विश्वव्यापी मन्दीको कारण हामी झन् जटिल अवस्था पुग्यौं ।’

उपाध्यक्ष एशोसिएटतर्फका रामचन्द्र संघाईले केन्द्रको साथै प्रदेशको क्षमता वृद्धिमा काम गर्नुपर्ने बताए । उनले उद्योग, व्यवसायसँग सम्बन्धी समस्या समाधानका लागि आफूहरू लागि परेको बताए ।

उनले साना तथा मझौला उद्योगका लागि छुट्टै नीति आवश्यक रहेको बताए । ‘उद्योग व्यवसायको समस्या नजिकबाट हेर्दै आएको कारण समस्यासँग नजिक छु । त्यसैले साना मझौला उद्योगको लागि छुट्टै नीति निर्माण आवश्यक छ । त्यसलाई सम्बोधन गराउन हामी लागि रहेका छौं,’ उनले भने ।

महासंघका मधेश प्रदेशका अध्यक्ष गणेश लाठले प्रदेश महासंघ चलाउन केन्द्रबाट आवश्यक सहयोग हुन नसकेको गुनासो गरे ।

उनले प्रदेशका व्यवसायिका लागि आवश्यक तालिम, भ्रमण, गोष्ठी लगायतको ज्ञान नेतृत्वमा रहे पनि त्यसलाई पूरा गर्न नसकेको बताए । आगामी नेतृत्वले यी सबै विष सम्बोधन गर्नुपर्ने उनले बताए ।

आगामी फागुन २५ गते प्रदेश महासंघको निर्वाचनले मधेश प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ ।

 

 

रिडी पावर र अरुण भ्यालीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Previous

रिडी पावर र अरुण भ्यालीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

अर्को बैंकको एटीएमबाट पैसा झिक्दा लाग्ने शुल्क घट्यो Read Next

अर्को बैंकको एटीएमबाट पैसा झिक्दा लाग्ने शुल्क घट्यो