सस्तिँदै ब्याजदर, अन्तर बैंक ब्याजदर ५ प्रतिशतभन्दा तल झर्‍यो

काठमाडौं । बैंकिङ प्रणालीमा ब्याजदर सस्तिन थालेको छ । प्रणालीमा तरलता सहज हुँदै गएसँगै ब्याजदर पनि घट्न थालेको हो ।

माघ यता बैंकिङ प्रणालीमा लगातार निक्षेप बढिरहेको छ । माघको दुई सातामै प्रणालीमा ३० अर्ब बढी निक्षेप थपिएको छ । एकातिर निक्षेप बढ्दै जानु र अर्कोतर्फ कर्जाको माग कम हुँदा प्रणालीमा ब्याज घट्न थालेको हो ।

केही महिना अघि तरलताको चरम अभाव हुँदा अन्तर ब्याजदर ८ प्रतिशत माथि पुगेको थियो । तर, पछिल्लो समय ऋणको माग नहुँदा र प्रणालीमा पैसा थुप्रिन थालेसँगै अन्तर बैंक ब्याजदर झन्डै आधाले घटेको छ । बैंकहरूले कर्जाको माग बढ्न नसकेपछि राष्ट्र बैंकबाट पाउने स्थायी तरलता सुविधा समेत लिन छाडेका छन् ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ । यो पछिल्लो ६ महिना यताकै कम हो । गत बिहीबारको तथ्यांक अनुसार अन्तर बैंक ब्याजदर ४.६७ प्रतिशतमा झरेको छ ।

कर्जाको अधिक माग हुँदा बैंकहरूले एक अर्को बैंकसँग पैसा सापटी लिएर लगानी योग्य रकमको व्यवस्थापन गर्छन् । यस्तोमा एक बैंकले अर्को बैंकलाई ब्याज तिनुपर्दछ ।

यद्यपि, अन्तर बैंक ब्याजदर घटे पनी ऋणीले राहत पाउने छैनन् । ऋणीले राहत पाउन बैंकहरूको बेसरेट नै घट्नु पर्ने हुन्छ । बैंकहरूले माघदेखि निक्षेपको ब्याजदर घटाएकाले कर्जाको ब्याज घट्न भने चैतसम्म कुनुपर्ने हुनछ ।

अहिले बैंकिङ प्रणालीमा झन्डै डेढ खर्ब लगानी योग्य रकम रहेको बैंकरहरू बताउँछन् । नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि बैंकिङ प्रणालीमा तरलता सहज रहेको देखाउँछ । बैंक तथा वित्तीय संस्थाहरूको औसत कर्जा निक्षेप (सीडी) अनुपात सीमाभन्दा ४ प्रतिशत कम अर्थात् ८६ प्रतिशत मात्र रहेको छ । यसले पनि बैंकहरूसँग लगानी योग्य रकमको अभाव नरहेको देखाउँछ ।

बैंकिङ प्रणालीमा पैसा थुप्रिए पनि कर्जाको माग भने बढ्न सकेको छैन । ब्याजदर महँगो भएको भन्दै व्यवसायीहरूले बैंकबाट ऋण लिएर लगानी गर्ने अवस्था नरहको बताउँदै आएका छन् ।

अहिले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको छ । बैंकहरूको बेसरेट नै औसतमा १० प्रतिशत माथि रहेको छ । बैंकहरूले बेसरेटमा थप प्रिमियममा जोडर ऋण लगानी गर्छन् ।

कर्जाको ब्याज घट्न अझै कुर्नुपर्ने

अन्तर बैंक ब्याजर ५ प्रतिशत तल झरे पनि कर्जाको ब्याजदर घट्न भने अझै कुनुपर्ने भएको छ । बैंकहरूले माघदेखि निक्षेपको ब्याजदर पनि घटाएका छन् । यसअघि १२.१३३ प्रतिशत रहेको निक्षेपको ब्याजदर माघदेखि ११ प्रतिशतमा झारेका छन् । जसले कर्जाको पनि ब्याजदर घट्ने आधार तयार गरेको छ । तर, त्यसका लागि भने चैतसम्म कुर्नुपर्ने हुन्छ ।

बैंकहरूले निक्षेपको ब्याज घटाउने बित्तिकै कर्जाको ब्याज घट्ने होइन । माघदेखि निक्षेपको ब्याज घटे पनि त्यसअघि लिएको निक्षेपको ब्याज महँगो भएकाले बैंकको लागत घटेको छैन । जसकारण बैंकको बैसरेट घटेको छैन ।

बैंकहरूले हरेक त्रैमासमा आधारदर प्रकाशन गर्छन् र सोही आधारमा कर्जाको ब्याजदर निर्धारण गर्छन् । जसको कारण बैंकहरूरले ब्याजदर घटाए पनि तत्काल त्यसको प्रभाव कर्जाको मागमा नदेखिने वित्तीय क्षेत्रका जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकले गरेको व्यवस्थाका कारण पनि चैतदेखि कर्जाको ब्याजदर घट्दै छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत वाणिज्य बैंकहरूको स्प्रेडदर (निक्षेप र कर्जाको ब्याजदरको अन्तर) ०.४ प्रतिशत घटाउने घोषणा गरेको थियो । सो अनुसार हाल ४.४ प्रतिशत रहेको वाणिज्य बैंकहरूको स्प्रेडदर चैतदेखि ४.२ प्रतिशत र २०८० असार मसान्तदेखि ४ प्रतिशतमा झानुपर्नेछ ।

बैंकहरूले घटाएको निक्षेपको ब्याजदर, राष्ट्र बैंकको नीतिगत व्यवस्था र बढ्दो तरलताले आगामी केही महिनामै कर्जाको ब्याजदर घट्ने देखिन्छ ।

 

पर्यटकको आकर्षण बन्दै बन्दीपुरको ‘मिनी ग्रेटवाल’ Read Previous

पर्यटकको आकर्षण बन्दै बन्दीपुरको ‘मिनी ग्रेटवाल’

सिनर्जी पावरले पायो हकप्रद जारी गर्न अनुमति Read Next

सिनर्जी पावरले पायो हकप्रद जारी गर्न अनुमति