काठमाडौं । ठेक्का लिएर काम नगर्ने कम्पनी विरुद्ध सरकार एक्सनमा उत्रिएको छ । ठेक्का सम्झौता अनुसार काम नगर्ने कम्पनीहरुलाई धमाधम कालोसूचीमा राख्न थालेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले आइतबार एक सूचना जारी गर्दै थप १२ सप्लायर्स तथा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो । यसअघि चालु आवमा मात्रै सरकारले ८२ वटा कम्पनीलाई कालोसूचीमा राखिसकेको छ ।
कार्यालयले ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि ३ वर्षका लागि कालोसूचीमा राखेको हो ।
कार्यालयले राष्ट्र सेवा निर्माण सेवालाई ३ वर्षका लागि कालोसूचीमा राखेको छ । त्यसैगरी, युनिभर्सल मल्टी सर्भिस प्रालि काठमाडौं, स्वर्गद्वारी महाप्रभु बिल्डर्स प्रालि प्युठान, सुक्रिक निर्माण सेवा दाङ, एसडी कन्स्ट्रक्सन जनकपुर र मुक्तिनाथ बिल्डर्स एण्ड कम्पनी धापासी १ वर्षका लागि कालोसूचीमा परेका छन् ।
यस्तै, लक्ष्मी निर्माण सेवा अर्घाखाँची, जलेश्वर निर्माण सेवा धादिङ, कन्स्ट्रक्सन कुरिनटार, अन्जना निर्माण सेवा चितवन, दिल्ली ट्रेडिङ वीरगञ्ज र बी मेनेजमेन्ट प्रालि पोखरा पनि १ वर्षका लागि कालोसूचीमा परेका छन् ।
कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिमासम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।
