काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । दिनभरमा २५ अंककाे उतरचढाव आएकाे नेप्से अन्त्यमा १० अंकले बढेर बन्द भएको हो ।
सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४६ करोडले बढेर झन्डै साढे ३ अर्ब पुगेको छ ।
बुधबार नेप्से १०.३७ अंकले बढेर २१८३.६२ विन्दुमा पुगेको छ । यसदिन २६१ कम्पनीको ३ अर्ब ४६ करोड रुपैयाँ बढीको ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको घटेको छ । होटल समूह सबैभन्दा धेरै ३.६५ प्रतिशतले बढेको छ भने अन्य समूह १.५६ प्रतिशतले घटेको छ ।
आज नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, हिमाल दोलखा हाइड्रोपावरको ९ करोड र ग्रीना लाइफ हाइड्रोपावर ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
बढ्दो बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ग्रीन लाइफ हाइड्रोपावर र आदर्श लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, सानिमा जीआइसी, सूर्यज्योति लाइफ इन्स्योरेन्स र बाराही हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।