काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उच्च गिरावट आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३७.२५ प्रतिशतले घटेको हो ।
लघुवित्तले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ करोड १७ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड २९ लाख रुपैयाँ कम हो। गत आवको सोही अवधिमा माइक्रोफाइनान्सले ३ करोड ४६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र संचालन मुनाफा घटेसँगै लघुवित्तको नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.२५ प्रतिशत घटेर ५ करोड ७२ लाखमा सीमित भएको छ । त्यसैगरी, संचालन मुनाफा ३८.७३ प्रतिशतले घटेर २ करोड ६२ लाखमा सीमित भएको छ ।
समीक्षा अवधिमा लघुवित्तले ७९ करोड निक्षेप संकलन र १ अर्ब ३० करोड सापटी लिई कुल २ अर्ब ३१ करोड कर्जा लगानी गरेको छ । पुस मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी १७ करोड ४ लाख र जगेडा कोषमा १८ करोड २० लाख संचित छ ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी आधाले घटेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २५.३२ रुपैयाँ घटेर २५.५२ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २०६.८१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४५.४६ गुणा र खराब कर्जा ३.२९ प्रतिशत रहेको छ ।