चामलमा परनिर्भरता कम हुँदै, आयात घट्यो

काठमाडौं । नेपाल कृषिप्रधान मुलुक भनिए पनि खाद्यान्नमा परनिर्भर रहेको छ । वार्षिक साढे ३ खर्ब बढीको खाद्यान्न आयात हुँदै आएको भन्सार विभागको तथ्यांक छ । जसमा सबैभन्दा धेरै ५० अर्ब बढीको धान चामल आयात हुँदै आएको छ ।

पछिल्लो एक दशक यता चामल आयात बढ्दो क्रममा रहेको छ । तर, चालु आर्थिक वर्षमा भने चामल आयात ह्वात्तै घटेको छ । गत वर्षको तुलनामा चालु आवमा चामल आयात ४४ प्रतिशतले घटेकाे छ ।

विभागका अनुसार चालु आवमा २८ करोड २१ लाख केजी धान तथा चामल आयात भएको छ । याे गत वर्षकाे तुलनामा २२ कराेड केजी कम हाे । गत वर्ष सोही अवधिमा ५० करोड ६९ लाख केजी धान तथा चामल आयत भएको थियो ।

मूल्यका आधारमा चालु आवमा गत वर्षभन्दा झन्डै ६ अर्ब कमको चामालय आयात भएको हो । गत आवको मंसिरसम्म १८ अर्ब १९ करोडको चामल आयात भएकोमा चालु आवमा १२ अर्ब ६५ करोड रुपैयाँको चामल आयात भएको छ ।

नेपालमै धानको उत्पादन बढेसँगै आयात धान चामलको आयात घट्न थालेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार संजेलका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा यसवर्ष धान उत्पादन करिब ७ प्रतिशतले बढेकाले आयात घट्न थालेको हो ।

यद्यपि, यस वर्ष धानखेती गरिएको जमिन भने घटेको थियो । धान उत्पादनको क्षेत्रफल घटे पनि हाइब्रिड बालीका कारण उत्पादन बढेको उनले बताए ।

‘धानको उत्पादकत्व यो वर्ष विगतको तुलनामा झण्डै ७ प्रतिशतले बढेको हो, उत्पादन हुने जमिनमा कमि आएको छ, तर हाइब्रिड बालीका कारण उत्पादन बढ्दो छ,’ संजेलले भने ।

धान खेतीको जमिन घट्दै गए पनि धानको उत्पादकत्व र वार्षिक उत्पादन वृद्धिदरमा भने क्रमशः सुधार हुँदै गएको प्रवक्ता संजेलको दाबी छ ।देशभर ५२ देखि ५५ लाख मेट्रिकटन धान उत्पादन हुने गरेको छ । किसानले उत्पादनको २० प्रतिशत हाराहारी धान बजारमा ल्याउने गरेका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार यसवर्ष १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकोमा ५४ लाख ८६ हजार ४७२ मेट्रिकटन उत्पादन भएको छ । जबकि, गत आर्थिक वर्ष २०७८/७९ मा देशभरको १४ लाख ७९ हजार ३७८ हेक्टर जमिनमा धान खेती गरिएको थियो । जसबाट ५० लाख ४७ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।

चालु आर्थिक वर्षको तुलनामा गतवर्ष धानखेती भएको जमिनको क्षेत्रफल बढी देखिन्छ । तर उत्पादन कम छ । त्यसअघिका तीन आर्थिक वर्षमा भने अहिलेको भन्दाबढी धान उत्पादन भएको थियो ।

मन्त्रालयको विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ मा ५६ लाख १० हजार, २०७६/७७ मा ५५ लाख ५० हजार र २०७७/७८ मा ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।

धान खेतीको क्षत्रेफल वर्षेनी घट्दै

सरकारले धानको उत्पादन बढ्दै गरेको बताए पनि धान खेती हुने जमिनको क्षेत्रफल भने निरन्तर घट्दो छ । आर्थिक वर्ष २०७३/७४ मा नेपालले धानखेती गरेको जमिनको क्षेत्रफल १५ लाख ५२ हजार ४६९ हेक्टर बराबर थियो । त्यो क्रमशः घट्दै गएर यसवर्ष १४ लाख ४७ हेक्टरमा खुम्चिएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा १४ लाख ६९ हजार ५४५ र आर्थिक वर्ष २०७५/७६ मा १४ लाख ९१ हजार ७४४ हेक्टरमा धान खेती भएको थियो । त्यस्तै, २०७६/७७ मा १४ लाख ५८ हजार ९१५ र २०७७/७८ मा १४ लाख ४९ हेक्टर जमिनमा धान खेती भएको देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा यसवर्ष धान बाली लगाइएको समग्र क्षेत्रफल २ प्रतिशतले घटेको देखिन्छ ।

यसवर्ष समग्र उत्पादनमा ६.९४ प्रतिशतले र उत्पादकत्वमा ९.१२ प्रतिशतले बढेको छ । गतवर्ष एक हेक्टर जमिनमा ३.४१ मेट्रिकटन बराबर धान फलेको थियो । यसवर्ष प्रतिहेक्टर ३.७९ मेट्रिकटन धान फलेको देखिन्छ ।

 

६ वर्ष बित्दा पनि सम्पन्न भएन गोदावरी सडक, २० मिटर चौडा गर्नुपर्नेमा ५ मिटर मात्रै कालोपत्र Read Previous

६ वर्ष बित्दा पनि सम्पन्न भएन गोदावरी सडक, २० मिटर चौडा गर्नुपर्नेमा ५ मिटर मात्रै कालोपत्र

कालिका लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

कालिका लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?