इयूकाे टाेली नेपाल आउने कार्यक्रम स्थगित

नेपालको उड्डयन सुरक्षाबारे ‘अनसाइट मूल्यांकन’ गर्न नेपाल आउने योजनामा रहेको युरोपेली संघ (इयू) को टोलीको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ। इयूको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि इयूका राजदूत नोना डेप्रेजले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै इयूको अनसाइट मूल्यांकन तत्कालका लागि रोकिएको जनाइएको हो।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार यती एयरलाइन्सको यही माघ १ गते पोखरामा भएको दुर्घटना जाँच आयोगको काममा प्राधिकरणको जनशक्ति खटिनुपर्ने भएकाले आपसी सहमतिमा तत्कालका लागि इयूको नेपाल भ्रमण स्थगित भएको हो।

यसअघि गत अक्टोबारमा इयूको एक टोलीले नेपालको उड्डयन सुरक्षाबारे अध्ययन गर्दै उडान सुरक्षामा उल्लेख्य प्रगति भएको निष्कर्ष निकालेको थियो। छुट्टै टोलीलाई स्थलगत रूपमै खटाएर अध्ययन गराउने निर्णयका साथ उक्त टोली फर्किएको थियो। उड्डयन सुरक्षका लागि इयूले नेपाललाई निरन्तर सहयोग जारी राख्ने विज्ञप्तिमा उल्लेख छ।

सन् २०१३ देखि इयूले नेपाललाई सुरक्षासूचीमा राखेको छ। उक्त सूचीबाट हटाउन नेपालले विभिन्न प्रयास गर्दै आएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले हालै गरेको अडिटमा नेपालको हवाई सुरक्षा परिपालनादर ७०.१ प्रतिशत छ।

क्रसर जोन बनाउन निर्माण व्यवसायीको माग Read Previous

क्रसर जोन बनाउन निर्माण व्यवसायीको माग

आयात कडाइमा राष्ट्र बैंकको लचकता : बाह्य क्षेत्रकाे दबाब टरेको हो ? Read Next

आयात कडाइमा राष्ट्र बैंकको लचकता : बाह्य क्षेत्रकाे दबाब टरेको हो ?