आयातमा नगद मार्जिनको व्यवस्था हट्यो, अब एलसी खोल्दा नगद राख्न नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वस्तु आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटाएको छ । राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंक र विकास बैंकहरुलाई एकीकृत परिपत्र जारी गर्दै सबै प्रकारको वस्तु आयातमा लगाइएको नगद मार्जिनको व्यवस्था हटाएको जानकारी गराएको हो ।

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै राष्ट्र बैंकले १ वर्ष अघि वस्तु आयातमा ५० देखि शतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो । राष्ट्र बैंकले २०७८ पुस ५ र माघ २६ गते दुई पटक गरी ४८ समूहका हार्मोनी कोड वस्तु आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

नगद मार्जिनको व्यवस्था हटाएसँगै अब व्यवसायीले कुनै पनि वस्तु आयातका लागि नगद मार्जिन राख्नुपर्ने छैन । राष्ट्र बैंकले मंसिर १६ गते मात्रै निर्माण सामग्रीहरुको आयातमा नगद मार्जिनको व्यवस्था हटाएको थियो ।

लामो समयदेखि व्यवसायीहरुले नगद मार्जिन सम्बन्धी व्यवस्था खारेज गर्न माग गर्दै आएका थिए । साथै, अन्तर्राष्ट्रिय मुद्रा कोषले नगद मार्जिन सम्बन्धी व्यवस्था हटाउन दबाब दिँदै आएको थियो ।

सरकारले गत वैशाखदेखि गाडी, मदिरा, महँगा मोबाइल लगायत वस्तु आयातमा लगाएको प्रतिबन्ध पुसदेखि हटाएको थियो ।

 

चालु खर्च घटाउने अर्थमन्त्रालयको योजना : एसी, हिटर नचलाउने, बोतलको पानी नखाने Read Previous

चालु खर्च घटाउने अर्थमन्त्रालयको योजना : एसी, हिटर नचलाउने, बोतलको पानी नखाने

कालिञ्चोक दर्शनको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

कालिञ्चोक दर्शनको आइपीओ भर्ने आज अन्तिम दिन