काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । गत साता करेक्शन भएको नेप्से यस साता पहिलो कारोबार दिनमै उच्च अंकले बढेको हो ।
मंगलबार नेप्से ३२.७२ अंकले बढेर २१८२.११ विन्दुमा पुगेको छ । यसदिन २५० कम्पनीको ३ अर्ब ७२ करोड रुपैयाँ बढीको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये बैंकिङ बाहेक अरु सबै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । होटल समूह सबैभन्दा धेरै ५.१२ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावर समूह पनि ५ प्रतिशतले बढेको छ ।
आज अपि पावरको सर्वाधिक कारोबार भएको छ । यसको २३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपर तामाकोशी ११ करोड र ङादी ग्रुप पावर झन्डै १०करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेको बजारमा पनि आज आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ग्रीन भेन्चर, आदर्श लघुवित्त र पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, बाराही हाइड्रोपावर, घलेम्दी हाइड्रोपार, हिमालयन पावर र बलेफी हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।