निजी क्षेत्रको हालसम्मकै ठूलो साहस ऊर्जाको सोलु दूधकोशी जलविद्युत् निर्माण सम्पन्न

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको हालसम्मकै ठूलो ८६ मेगावाटको सोलु दूधकोशी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ ।

यसअघि २०७८ चैतबाटै विद्युत उत्पादन गर्ने भनिए पनि कोरोना महामारी, उपकरण ढुवानीमा समस्या, प्रसारण लाइन निर्माणमा भएको ढिलाइ लगायत कारणले झन्डै १ वर्षपछि आयोजना सम्पन्न भएको हो ।

यो आयोाजना साहस ऊर्जा कम्पनीले निर्माण गरेको हो । निर्माण सम्पन्न भएसँगै आयोजनाले परीक्षण उत्पादनको तयारी सुरु गरेको छ । आगामी सातादेखि परीक्षण उत्पादन थालिने कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि आयोजनाको सुरुङ, पेनस्टेक, बाँध, विद्युतगृहको सफल परीक्षण गरिसकेको छ । आयोजनाबाट उत्पादित बिजुली १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्लास्थित लम्माने सबस्टेसनमा जोडिनेछ ।आयोजनामा नेपाल नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा १० बैंकले ८ अर्ब ६५ करोड ऋण लगानी गरेका छन् ।

८६ मेगावाट क्षमताको आयोजनाको लागत करिब ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । जसअनुसार प्रति मेगावाट लागत साढे १३ करोड रुपैयाँ हाराहारी मात्रै रहेको छ । यसलाई तुलनात्मक रुपमा प्रतिमेगावाट लागत सस्तो मानिन्छ ।

वार्षिक ५२० गिगावाट आवर विद्युत ऊर्जा उत्पादन गर्ने आयोजनाले सुख्खायाममा १०० गिगावाट र वर्षायाममा ४२० गिगावाट आवर ऊर्जा उत्पादन गर्ने छ । जसबाट आयोजनाले वर्षायाममा १ अर्ब ९२ करोड र सुख्खा याममा ८४ करोड गरी वार्षिक २ अर्ब ८६ करोड रुपैयाँको विद्युत विक्री गर्ने छ ।

 

अन्नपूर्ण पदमार्गमा ७ गुणाले बढे विदेशी पर्यटक Read Previous

अन्नपूर्ण पदमार्गमा ७ गुणाले बढे विदेशी पर्यटक

थप २ लघुवित्तको लाभांश घोषणा, कुन कति ? Read Next

थप २ लघुवित्तको लाभांश घोषणा, कुन कति ?