काठमाडौं । गत वर्षको दोस्रो त्रैमासदेखि बैंक तथा वित्तीय संस्थाले कर्जा विस्तार उल्लेख्य रुपमा बढाउन सकेका छैनन् । वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव र महंगो ब्याजले कर्जाको माग नहुँदा लगानी गर्न नसकेका हुन् ।
कर्जाको माग हुँदा प्रणालीमा स्रोत नहुने र स्रोत हुँदा माग नहुने समस्या देखिएपछि बैंकको व्यवसाय संकुचन भएको छ । कर्जा लगानी सुस्तताको असर आर्थिक गतिविधिमा समेत देखिएको छ ।
कर्जाको ब्याजदर १८ प्रतिशत पुगेपछि व्यवसाय तथा अन्य प्रयोजनका लागि ऋणको माग भएको छैन । सोही विषयलाई लिएर बुधबार नेपाल बैंकर्स संघले मागदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ ।
पूर्वबैंकर परशुराम कुँवर क्षेत्री तत्काल कर्जाकोे ब्याजदर नघट्ने भएकाले कर्जाको माग नबढ्ने बताउँछन् । ‘बैंकहरूले डिपोजिट रेट घटाउन ढिलो गरे । अहिले डिपोजिटको रेट मात्र घट्ने हो, ’ उनले भने, ‘कर्जाको ब्याजदर नघटी डिमान्ड बढ्दैन ।’ माघमा निक्षेपको ब्याजदर घटाए पनि कर्जाको ब्याजदर भने अहिलेको लागतले आधारदर बढी हुँदा झन बढ्ने उनले बताए ।
यस्तै, तत्काल एलसी खोल्न बाहेक अन्य क्षेत्रमा कर्जा गइहाल्ने अवस्था नरहेको बैंकरहरू बताउँछन् । ‘उद्योगी, व्यवसायीले ऋण पाइएन भनेर भनिरहेका छन् । आन्दोलन समेत गरे । अहिले बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाव छैन,’ एक वाणिज्य बैंकका सीईओले भने, ‘तर, अहिले कर्जाको माग एकदम कम छ । कर्जाको माग नहुँदा पैसा बैंकमै थुप्रिएर बसेको छ ।’ माघदेखि निक्षेपको ब्याजदर घट्ने भएकाले केही महिनापछि क्रमशः कर्जाको माग बढ्दै जाने उनको भनाइ छ ।
अहिले निक्षेपको मात्र ब्याज घटेकाले तत्काल कर्जाको माग नबढ्ने व्यवसायीहरू बताउँछन् । कर्जाको ब्याज घटेपछि मात्र व्यवसायीलाई ऋण लिएर काम गर्न सहज हुने उनीहरूको भनाइ छ ।
तत्काल घट्दैन कर्जाको ब्याजदर
नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकहरूले एकपटकमा मुद्दती निक्षेपको अधिकतम् ब्याजदरको औषत निकालेर त्यसको १० प्रतिशत मात्र घटाउन वा बढाउन पाउँछन् ।
योसँगै माघदेखि मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत कायम हुनेछ भने संस्थागततर्फ ९ प्रतिशतमा झर्नेछ । हाल बैंकहरूले मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत ब्याज दिइरहेका छन् ।
वित्तीय प्रणालीमा स्रोत अभाव भएपछि बैंकहरूले गत असोजदेखि निक्षेपको ब्याजदर बढाउँदै आएका छन् । निक्षेप तान्ने अस्वस्थ प्रतिस्पर्धा चलेपछि मुद्दती निक्षेपकको ब्याजदर १५.१३३ प्रतिशतसम्म पुगेको थियो । त्यसको असर बैंकको लागतमा देखिएको छ । लागत बढेपछि बैंकको आधारदर नै ११ प्रतिशत माथि पुगेको छ । जसको कारण कर्जाको ब्याजदर उच्च भएर उपभोग र मागमा संकूचन आयो ।
बैंकहरूले माघदेखि निक्षेको ब्याजदर घटाए पनि कर्जाको ब्याजदरमा भने फेरबदल वैशाखपछि मात्र आउँछ । राष्ट्र बैंकले बैंकको आधारदरसँग कर्जाको ब्याजदर आबद्ध गरेको छ । बैंकहरूले हरेक त्रैमासमा आधारदर प्रकाशन गर्छन् र सोही आधारमा कर्जाको ब्याजदर निर्धारण गर्छन् । जसको कारण बैंकहरूरले ब्याजदर घटाए पनि तत्काल त्यसको प्रभाव कर्जाको मागमा नदेखिने वित्तीय क्षेत्रका जानकारहरू बताउँछन् । प्रणालीमा तरलता सहज भएसँगै अन्तर बैंक ब्याजदर पनि ओरालो लागेको छ ।
राष्ट्र बैंकका अनुसार गत सोमबारसम्म अन्तर बैंकदर ६.१४ प्रतिशतमा झरेको छ । बैंकसँग महंगो निक्षेप हुँदा पुसमा झन कर्जाको ब्याजदर बढ्ने उनले बताए ।‘ब्याजदर घटाउदा डिपोर्जिटको रेट घट्ने हो । निक्षेपको रेट घट्ने वित्तिकै कर्जाको रेट घट्ने होइन,’ क्षेत्रीले भने, ‘निक्षेपको ब्याजदर घट्न आधारदर घट्नु पर्छ । अहिले उल्टो बढ्छ । ’
अहिले बैंकहरूको ६० प्रतिशत निक्षेप मुद्दतीमा छ । महंगोमा ब्याज दिएको पैसा हुँदा त्यसले पुस महिनामा बैंकको बेसरेट बढाउने बैंकर बताउँछन् ।
पैसा छ, लगानी हुँदैन
चालु आवको दोस्रो त्रैमासको अन्तिम महिना भएकाले पुसमा तरलता अभाव हुने धेरैको विश्लेषण थियो । राष्ट्र बैंकले सोही विषयलाई मध्येनजर गर्दै यो महिना एसएलएफ मार्फत राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ प्रणालीमा पठाएको थियो ।
तर, बैंकहरूसँग अहिले २ खर्ब बढी लगानीयोग्य रकम भएको बैंकरहरूले बताइरहेका छन् । गत सोमबारसम्म निक्षेप र कर्जाको अनुपात(सीडी रेसीयो) ८६.६५ मा झरेको छ । बैंकहरूले ९० को अनुपातसम्म कर्जा लगानी गर्न पाउने व्यवथा छ ।
गत असोज मसान्तसम्म्म ४७ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरूले २५ पुससमम्म ४७ खर्ब ७८ अर्ब रुपैयाँ पुर्याएका छन् । ६ महिनाको यस अवधिमा संस्थाहरूले कुल ६४ अर्ब रुपैयाँ मात्र कर्जा विस्तार गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । साउन यता संस्थाहरूले कुल १ खर्ब ५२ अर्ब निक्षेप संकलन गरेका छन् । गत असार मसान्त सम्म ५१ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा अहिले ५३ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ ।
हाल बैंकहरूले स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्नपाउने व्यवस्था छ । तर, कर्जा लगानी नहुदा रकम प्रणालीमै बसेको छ । आर्थिक गतिविधिमा आएको सुस्तताले कर्जाको माग नहुँदा बैंकहरूले कर्जा लगानी गर्न नसकेको बैंकर बताउँछन् ।
‘बैंकले लगानी गर्न नसक्दा उनीहरूको व्यवसायमा मात्र नभएर अर्थतन्त्रका अन्य क्षेत्रमा पनि देखिन्छ । अहिलेसम्म १ खर्ब पनि लगानी गर्न सकेका छैन । बाँकी अवधिमा राष्ट्र बैंकको कर्जा विस्तारको प्रक्षेपण भेट्टाउँछन् जस्तो लाग्र्दैन,’ उनी भन्छन् ।
राष्ट्र बैंकले यस वर्ष निजी क्षेत्र तर्फको कर्जा विस्तारको लक्ष्य १२.६ प्रतिशत राखेको थियो । तर, आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकहरूले लक्ष्यको १० प्रतिशत मात्र कर्जा लगानी गरेका छन् ।
मौद्रिक नीतिले राखेको कर्जा विस्तारको लक्ष्य भेट्टाउन बैंकहरूले ५ खर्ब ९० अर्ब रुपैयाँ स्रोत लगानी गर्नुपर्छ । कर्जा लगानीको यही अवस्था रहे बैंकले ३ खर्ब लगानी गर्न पनि मुस्किल पर्ने वित्तीय जानकारहरूको भनाइ छ ।
संस्थाहरूले कर्जा लगानी गर्न नसक्दा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न नसकिने व्यवसायी र अर्थशास्त्रीको तर्क छ ।