कात्तिक ५, काठमाडौं । तिहार नजिकिँदै गर्दा नेपाली बजारमा विभिन्न सरसामग्री किन्नेहरूको चहलपहल बढेको छ । अन्य बजारको जस्तै तिहारमा अधिक मात्रामा विक्री हुने चाँदी तथा तामा पित्तलका भाँडाकुडा खरिद गर्नेहरुको बजारमा चाप बढ्न थालेको हो । तामा र पित्तलको भाँडाकुडाका लागि उपत्यकामा पाटन शहर प्रसिद्ध छ । त्यसैले, यतिबेला पाटन क्षेत्रका भाँडा निर्माण गर्ने कालिगढदेखि विक्री गर्ने व्यवसायीलाई भ्याईनभ्याई छ ।
नेपालमा वार्षिक ३ हजारदेखि ४ हजार टन तामा, पित्तल, काँस तथा ढलौटका भाँडाको कारोबार हुने व्यवसायीहरू बताँउछन् । यसमध्ये २० देखि २५ प्रतिशत तामा र पित्तलका सामग्री तिहारमा विक्री हुने गरेको छ ।
पाटन मङ्गलबजारस्थित भाँडा मन्दिरका व्यापारी सुरज ताम्राकार आफूले अर्डर दिएका भाँडाकुडा समेट्न व्यस्त रहेका छन् । तिहारका लागि बजारमा चहलपहल सुरुभएसंगै आफूपनि काममा निकै व्यस्त रहने ताम्राकार बताउँछन् । गत आइतबारदेखि नै पसलमा सामान खरिद गर्न आउँनेहरुको भिड बढ्न थालेको बताउँदै अब झन विक्रि बढ्ने अपेक्षा ताम्राकारको छ । उनका अनुसार मुख्यगरी धनतेरसका लागि चाँदी तथा पित्तलका सामाग्री बढी विक्रि हुने गरेको छ । त्यस्तै, वार्षिक करीब ३० लाख रुपैयाँबराबरको तामा, पित्तल र काँसका भाँडाकुडा विक्री गर्दै आएको उनी बताउँछन् । तिहारको २ दिनमा भने दैनिक ६७–८० हजार रुपैयाँबराबरको भाँडाकुडा विक्री हुने अपेक्षा उनको छ ।

त्यसैगरी पुर्ख्याैली पेशाको रूपमा चाँदीको विभिन्न भाँडाकुडा निर्माण गर्दै आएका पाटन कोवाहलका राजीव बज्राचार्य अचेल दैनिक १२ घण्टासम्म काम गर्छन् । उनीसँगै दुई छोरा पनि काममा उत्तिकै जुटेका छन् । तिहारका बेला उनले ३ सयदेखि ४ सय तोला चाँदीको भाँडाकुडा बनाउने गरेको बताउँछन् ।
नेपालमा वार्षिक ३ हजारदेखि ४ हजार टन तामा, पित्तल, काँस तथा ढलौटका भाँडाको कारोबार हुने व्यवसायीहरू बताँउछन् । यसमध्ये २० देखि २५ प्रतिशत तामा र पित्तलका सामग्री तिहारमा विक्री हुने गरेको छ । “हरेक वर्ष यस क्षेत्रको व्यापार बढ्दो क्रममा नै छ, बज्रार्चाय भन्छन्, तामा, पित्तल तथा चाँदीको सामानप्रति उपभोक्तको रोजाई यथावत छ, जसले गर्दा हाम्रो व्यवसाय धरापमा परेको छैन ।” वार्षिक करिब १० देखि १५ प्रतिशतले व्यापार वृद्धि हुने गरेको बज्रार्चाय बताउँछन् ।
तामाका विशेषगरी पूजाभाँडा, दैनिक प्रयोग हुने घरायसी भाँडाकुडा, फेशनको रूपमा प्रयोग हुने गरगहना र घर तथा होटलमा आन्तरिक सजावटमा प्रयोग हुने वस्तु बन्ने गरेका छन् । तिहारमा विक्री हुने यस्ता सामान नेपालमै हस्तनिर्मित हुने गरेको छ भने उत्तिकै मात्रामा भारतबाट आयात पनि हुने गरेको व्यपसायीहरु बताउँछन् । त्यस्तै तिहारमा विक्रि हुने यस प्रकारका सामानमध्ये करिब ७० प्रतिशत सामान भारतबाट गैरकानूनी रूपमा आयात हुने व्यवसायीहरुले अनुमान गरेका छन् ।

भारतमा मेशिनबाट निर्मित सामान नेपालको हस्तनिर्मित सामानभन्दा सस्तो पर्छ । त्यसैले, त्यस्ता उत्पादनले सजिलै नेपाली उत्पादन विस्थापित गर्न सक्ने डर नेपाली व्यपारीमा छ । भारतीय उद्योगीले नेपालकै विभिन्न स्थानमा विनादर्ता उद्योग नै सञ्चालन गरेको उनीहरुको दाबी छ । यस्तो गैरकानूनी कार्य नरोकिए यो पेशा नै सङ्कटमा पर्ने खतरा बढेको व्यवसायीहरू बताउँछन् । सरकारले यस व्यवसायप्रति चासो नदेखाएको व्यवसायीहरुको गुनासो छ ।
नेपालमा सिङ्गापुर, मलेशिया र दुबईबाट कच्चापदार्थको रूपमा भित्रिने तामालाई जिङ्कसँग सम्मिश्रण गरेर पित्तल, काँस र ढलौट बनाइने गरिएको छ । यस उद्योगमा हाल करीब ६० हजार मानिस प्रत्यक्ष/अप्रत्यक्ष रूपमा संलग्न भएको अनुमान छ ।