काठमाडौं । नेपाल आयल निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट पेट्रोल आयात गर्ने तयारी भइरहेको छ । ३ वर्षअघि पहिलो फेजमा पाइपलाइनबाट डिजेल आयात सुरू गरेको निगमले अब पेट्रोल पनि पाइपलाइनबाटैै ल्याउने तयारी गरेको हो ।
निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले चाँडै पेट्रोल पाइपलाइनबाट ल्याउन भारतीय पक्षसँग छलफल भई प्रकृया अघि बढिरहेको बताए । ‘निगमले अम्लेखगञ्ज पाइपलाइनबाटै पेट्रोल ल्याउनलाई भारतीय पक्षसँग छलफल गरी काम सुरू गरिसकेका छौँ, छिट्टै पेट्रोल पनि पाइपलाइनबाट आयात गर्ने छौँ,’ थानीले भने ।
उनले दोस्रो फेजमा ट्याङकी निर्माणका लागि भारतले ठेक्का निकाली आफैं निर्माणको तयारी गरिरहेको बताए । साथै आधुनिक ल्याब निर्माण समेतको तयारी भइरहेको उनले जानकारी दिए ।
पेट्रोल भण्डारणका लागि ४ हजार किलोलिटर क्षमताका २ वटा भण्डारण गृह निर्माण गर्ने तयारी भएको उनले बताए । यस्तै, निगमका प्रवक्ता विनित उपाध्ययले भारतीय आयल कर्पोरेसनले नै पेट्रोल भण्डारण गृह बनाइदिन लागेको बताए । उनका अनुसार २०२३ भित्र उक्त भण्डारण गृह निर्माण र ल्याब निर्माण गरी सञ्चालनमा ल्याउने तयारी रहेको छ ।
‘पेट्रोल भण्डारण निर्माणका लागि भारतीय आयल कर्पोरेसनले ठेक्का लगाउने काम सुरू गरिसकेको छ, २०२३ भित्र बनाइसकेर सञ्चालनमा ल्याउने लक्ष्यसहित काम सुरू गर्न लागेको हो,’ उपाध्यायले चाणक्य पोष्टसँग भने ।
यो पाइप लाइन भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६९.२ किलोमिटर लामो छ । यो पाइपलाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना हो ।
२०७६ भदौदेखि डिजेल आयात सुरू भएको थियो । अहिलेसम्म कुल २८ लाख ९२ हजार ४२९ किलोलिटर डिजेल पाइपलाइ्न हुँदै आयात भएको छ । पाइपलाइनबाट डिजेल आयात गर्दा अहिलेसम्म झण्डै ५ अर्ब रुपैयाँ बराबर बचत भएको उपाध्याय बताउँछन् ।
अमलेखगञ्ज डिपो नेपालकै सबैभन्दा ठूलो इन्धन भण्डार हो । २०३३ सालमा निर्माण भएको सो डिपो ६७ हजार ७२४ वर्गमिटर क्षेत्रमा फैलिएको छ । यो पाइपलाइनबाट वार्षिक २५ लाख किलोलिटर डिजेल आयात गर्ने क्षमता रहेको छ । हाल अम्लेखगञ्जमा १९ हजार ८४० किलोलिटर डिजेल, ३ हजार ४३० किलोलिटर पेट्रोल ७६० किलोलिटर मट्टितेल भण्डारणको क्षमता रहेको छ । यो डिपोको क्षमताले मात्र देशको २.५ दिनको पेट्रोलियमको माग धान्न सक्छ ।
अमलेखगञ्ज डिपोबाट अहिले विराटनगर, जनकपुर, थानकोट, पोखरा, भलवारी डिपोमा स्टक ट्रान्सफर हुँदै आएको छ । अहिले दैनिक औसत ५ हजार किलोलिटर इन्धन स्टक ट्रान्सफर र ६ हजार ५०० किलोलिटर इन्धनको आपूर्ति तथा वितरण गर्दै आएको आएको छ ।
यस्तै, कार्यकारी निर्देशक थानीले गण्डकी प्रदेशको पोखरामा डिजेलको भण्डारण छिटै सम्पन्न गरी यसै आर्थिक वर्षमा सञ्चालनमा ल्याउने तयारी रहेको बताए । साथै झापाको चारआलीमा पेट्रोल भण्डारण निर्माण, नेपालगञ्ज, धनगढी र सुर्खेतमा भण्डारण क्षमता अभिवृद्धिका लागि जग्गा प्राप्तीको काम सुरू गरिएको उनले जानकारी दिए ।