निजी क्षेत्र रिझाउने सरकारको उदार नीतिले अर्थतन्त्रमा कस्तो असर पार्छ ?

काठमाडौं । कोभिडले सिथिल भएको अर्थतन्त्र पुनरुत्थानका लागि गत वर्ष सरकार र राष्ट्र बैंकले खुकुलो नीति लियो । पुनरकर्जा र सहुलियतपूर्ण कर्जाले वित्तीय क्षेत्रमा स्रोत पर्याप्तता मात्र भएन कति दुरुपयोग भयो भन्ने नियामकसँग कुनै जानकारी छैन ।

वास्तविक समस्यामा परेकाहरू सरकारको सहुलियतपूर्ण सुविधा प्राप्त गर्नबाट वञ्चित भए भने जो समस्यामा परेका छैनन् उनीहरूले बैंक तथा वित्तीय संस्थाबाट सस्तोमा ऋण लिएर अन्यत्रै लगानी गरे ।

जसको कारण संकटपूर्ण अवस्थामा रहेका उत्पादनमूलक व्यवसायहरू बन्द भएर उत्पादन बढ्न सकेन् । उत्पादन वृद्धि नहुँदा अर्थतन्त्रमा देखिएको भुक्तानी सन्तुलनकोे अर्को समस्या हालसम्म कायम छ ।

अर्थतन्त्र पुनरुत्थानका लागि सरकारले उपलब्ध गराएको सुविधा सीमित पहूँचवालाको हातमा पुगेको कर्जा लगानीको तथ्यांकले नै देखाउँछ । त्यसलाई थप पुष्टि गर्ने अर्को तथ्य धितोपत्र बजार र घरजग्गाको कारोबार तथा मूल्य वृद्धि हो ।

यसअवधिमा सेयर बजारले नयाँ रेकर्ड कायम गरेको थियो भने कोभिडको महामारीले धेरैको क्रयशक्ति कमजोर र रोजगारी गुम्दा पनि घरजग्गाको कारोबार र मूल्य वृद्धिमा कुनै असर परेन ।

कर्जाको दुरुपयोग बढेको राष्ट्र बैंकका पछिल्ला नीतिगत कदमले पनि देखाउँछ । गत वर्षको दोस्रो त्रैमासदेखि राष्ट्र बैंकले रियल स्टेट र घर कर्जामा कडाइ गर्दै लगेको छ भने मार्जिन कर्जामा सीमा तोकेको छ । सीमित व्यक्तिको हातमा सस्तो ब्याजदरमा रकम पुगेपछि अनुत्पादक क्षेत्रमा लगानी हुँदा उत्पादन बढ्न सकेको छैन ।

राष्ट्र बैंकले गत वर्ष १९ प्रतिशतले निजी क्षेत्रतर्फ कर्जा विस्तारको लक्ष्य लिएको थियो । बैंक तथा वित्तीय संस्थाहरूले लक्ष्यको १५ प्रतिशत कर्जा लगानी गरेका थिए । पछिल्ला केही वर्षमा जीडीपीको आकारमा कर्जा लगानी दोब्बरले बढे पनि उत्पादन बढ्न सेको छैन । यसले पनि अर्थतन्त्रमा उत्पादन वृद्धि नहुँदा लगानी कहाँ गइरहेको छ भन्ने जबरजस्त प्रश्न खडा गरेको छ ।

लयमा फर्काउनै सकस

राष्ट्र बैंकले चालु वर्ष कसिलो मौद्रिक नीति कार्यान्वयनमा ल्याएको छ । अर्थतन्त्रमा देखिएको बाह्य दबाब कम गर्न अपनाइएका वित्तीय उपकरणले केही चाप कम गरे पनि लयमा फर्किएका छैनन् ।

खुकुलो नीतिले बजारमा स्रोतको परिचालन बढेपनि आन्तरिक उत्पादन नबढ्दा अर्थतन्त्रको आयातमुखी संरचनामा टेवा पुगेको छ । कोभिडको समयमा कायम विदेशी मुद्रा संचिति घटेर गत असारसम्म आइपुग्दा ६ महिनाको लागि आयात धान्न पुग्ने सीमित भएको थियो । राष्ट्र बैंकको स्थापनादेखि संचिति गरेर कायम गरिएको विदेशी मूद्रा एकै वर्षको आयातमा गएको राष्ट्र बैंकका अधिकारीले पनि स्वीकार गरिसकेका छन् ।

भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाखमा लगाएको आयात प्रतिबन्ध ९ महिनापछि पुसदेखि खुला गरेको छ । राष्ट्र बैंकले सोही स्थायित्वका लागि लिएको आयातमा नगद मार्जिनको नीति हालसम्म कायम राखेको छ ।

आयात प्रतिबन्धले आर्थिक सूचकहरूमा सुधार आयपनि फेरि उही अवस्थामा फर्किन सक्ने अवस्था आर्थिक संरचनाले देखाइरहेको आर्थिक क्षेत्रका जानकारहरू बताउँछन् ।

निजी क्षेत्र रिझाउन, बलिको बोको अर्थतन्त्र

सरकार परिवर्तनसँगै आर्थिक र नीतिगत व्यवस्थाहरू पनि फेरबदल हुन थालेका छन् । निजी क्षेत्रका संघ संस्थाहरूले आफू अनुकूल नीतिका लागि अर्थमन्त्रीदेखि प्रधानमन्त्री समक्ष लबिङ गरिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वित्त नीति, राजस्व नीति र मौद्रिक नीति बीच समन्वय गरेर अघि बढ्ने बताइरहेका छन् । तर, आर्थिक अनुशासनको सवालमा निजी क्षेत्र रिझाउन सरकारले अर्थतन्त्रलाई बलिको बोको बनाइएको छ ।

चालु पूूँजी कर्जा मार्गदर्शन संशोधन गर्ने राष्ट्र बैंकको निर्णय यसको उदाहरण हो । वित्तीय क्षेत्रमा कर्जा दुरुपयोग लागि नीतिगत डिपार्चर मानिएको यस नीतिमा गरिएको फेरबदलले एक प्रयोजनका लागि भनेर अर्को ठाउँमा लगानी गर्नेहरूका लागि मलजल पुगेको छ ।

यसैगरी, नगद मार्जिन, मार्जिन लोन लगायतका क्षेत्रमा गरिएको नीतिगत कडाइमा पनि राष्ट्र बैंकको लचकता रहने देखिएको छ । आयातमुखी अर्थसंरचना प्रतिस्थापनका लागि आन्तरिक उत्पादन बढाउनुको विकल्प नभएको अर्थशास्त्रीहरू बताउँछन् ।

सरकार परिवर्तनको प्रभाव राष्ट्र बैंकको नीतिमा समेत परेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । ‘हाम्रो अर्थतन्त्रको संरचना नै आयातमुखी छ । आर्थिक स्थायित्वमा परेको दबाब कम गर्न राष्ट्र बैंकले लिएका मौद्रिक उपकरणहरूले सकारात्मक भूमिका खेलेको छ,’ राष्ट्र बैंकका एक कार्यकारी निर्देशक भन्छन्, ‘सरकारले लोकरिझ्याइँका लागि नीतिगत लचकता लिइरहेको छ । यसले अर्थतन्त्रमा पहिलेको जस्तै समस्या देखा पर्ने देखिन्छ ।’

अर्थशास्त्रीहरू नीतिगत रुपमा सरकारले अर्थतनत्रलाई बलिको बोको बनाउँदा उत्पादनको संरचनामा फेरबदल नआउने बताइरहेका छन् । अर्थविद् डा.चन्द्रमणी अधिकारी नेपालको अर्थतन्त्रको संरचना हेरेर सरकार र राष्ट्र बैंकले नीतिहरू नलिए अर्को समस्या आउने बताए ।

‘कोभिडको समयमा सिथिल भएको आर्थिक गतिविधि चलायमान बनाउन सरकार र राष्ट्र बैंकले लिएका नीतिहरूले विभिन्न समस्या अहिलेसम्म देखापरेका छन्,’ उनले भने, ‘जुन रुपमा उत्पादन बढ्नु पर्ने हो, त्यो बढेको छैन । उल्टै विदेशी मुद्रा संचिति बढाउन प्रतिबन्ध लगाउनु पर्ने अवस्था आएको थियो । अहिले पनि सोही नीति लिए झन जटिल समस्या देखा पर्छ ।’

 

नेप्सेमा झन्डै १०० अंकको उतरचढाव, एक वर्ष यताकै धेरै कारोबार Read Previous

नेप्सेमा झन्डै १०० अंकको उतरचढाव, एक वर्ष यताकै धेरै कारोबार

आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Next

आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?