काठमाडौं । सेयर बजारमा तीव्र उतरचढाव आएको छ । बजार खुलेदेखि लगातार उकालो लागेर ६३ अंकले बढेको नेप्से अन्त्यमा २१ अंकले घटेर बन्द भएको हो । आज नेप्सेमा झन्डै १०० अंकको उतरचढाव आएको छ ।
सूचकमा गिरावट आए पनि कारोबार रकममा भने ठूलो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्ब २० करोडले बढेर साढे ७ अर्ब नाघेको छ । यो एक वर्ष यताकै धेरै कारोबार हो ।
सोमबार नेप्से २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा आइपुगेको छ । यसदिन २५४ कम्पनीको ७ अर्ब ६५करोड रुपैयाँ बढीको २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये बैंकिङ र म्युचुअल फण्ड बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.३१ प्रतिशतले बढेको छ ।
आज ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपि पावर २० करोड र रिडी पावर १८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा बाराही हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशतले कमाएका छन् ।
घट्दो बजारमा आज तारागाउँ होटलका सेयरधनीले सबैभन्दा धेरै ८.७४ प्रतिशतले घटेको छ ।