काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड (बीओके)ले एकीकृत काराेबार सुरू गरेका छन् । मर्जरपछि साेमबार एक कार्यक्रम आयाेजना गरेर ग्लाेबल आइएमई बैंककाे नामबाट एकीकृत काराेबार सुरू गरेका हुन ।
गत असारमा मर्जर सम्झौता गरेका बैंकले चार महिनापछि एकीकृत काराेबार सुरू गरेका छन् । दुवै बैंकबीच १:१ काे सेयर अनुपातमा मर्जरमा जाने सहमति भएकाे थियाे । साेही अनुसार मर्जर गरेर एकीकृत काराेबार गरेका गरेका हुन् ।
नयाँ बैंकको कुल पूँजी कोष ५७ अर्ब, चुक्ता पूँजी ३५.७७ अर्ब, कुल निक्षेप ४१० अर्ब, कुल कर्जा ३७९ अर्ब भन्दा बढी पुगेकाे छ ।
कुल पूँजी, चुक्ता पूँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक ग्लाेबल आइएमई बैंक बनेकाे अध्यक्ष चन्द्र ढकालले बताए ।
दुई बैंकहरुको एकीकृत काराेबारपछि कुल ३९६ शाखा कार्यालय, ३६८ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।
नेपालकाे वित्तीय प्रणालीकाे कुल हिस्साकाे १० प्रतिशत ग्लाेबल आइएमई बैंकले ओगटेकाे उनले बताए । अध्यक्ष ढकालले भने, ‘नेपाली बैंकिङ क्षेत्रका लागि ऐतिहासिक दिन हाे । मर्जर सम्झौता भएपछि ग्लाेबल आइएमई बैंक पहिलाे बनेकाे छ ।´ २१ वटा बैंक तथा वित्तीय संस्था गाभेर एकीकृत रूपमा ग्लाेबल आइएमई बैंक बनेकाे हाे ।
राष्ट्र बैंक र सरकारकाे नीति कार्यान्वयन गर्ने पहिलाे ग्लाेबल आइएमई भएकाे ढकालले बताए । बLओकेका अध्यक्ष प्रकाश श्रेष्ठले मुलुककाे वित्तीय प्रणाली सुदृढ बनाउन दुई बैंक एक भएकाे बताए ।
`मुलुककाे वित्तीय प्रणालीलाई सुदृढ बनाएर वित्तीय पहूँच बढाउन हामी मर्जरमा गएका हाैं´, उनले भने,` यसले बैंकिङ प्रणालीमा सकारात्मक प्रभाव पारेकाे छ । सरकार र राष्ट्र बैंककाे नीति कार्यान्वयनमा सहयाेग पुगेकाे छ ।´