काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकाे छ । आइतबार बसेकाे निगम सञ्चालक समितिकाे बैठकले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको हाे ।
निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँ घटाएको छ । याेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ ।
निगमले वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ र आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको जनाएको छ ।
गतसाता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वाणिज्य तथा आपूर्ति सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए । तर, शुक्रबार सचिवकाे सरूवा भएकाे थियो ।
निगमका अनुसार अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य १७० रुपैयाँ कायम भएको छ ।निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेकाे छ । ग्यासमा उच्च घाटा रहेकाले निगमले मूल्य घटाउन नसकिएको जनाएको छ ।