एभरेष्ट बैंकको ऊर्जा ऋणपत्र विक्री खुला, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आजदेखि ऊर्जा ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ विक्रीमा ल्याएको हो ।

बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।

बाँकी ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्रमध्ये ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको भने ७ लाख ६० हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउने छन् । ऋणपत्रमा लगानीकर्ताले पुस २९ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै ऋणपत्र विक्री नभएका ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन पाउने छन् ।

सो ऋणपत्रमा लगानी गरे बापत बैंकले ६/६ महिनामा ब्याज भुक्तान गर्नेछ । प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।

बैंकको ऋणपत्रको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। ऋणपत्र निष्काशनका लागि गराएको रेटिङमा केयर नेपालले बैंकलाई ‘केयर एनपी डबल ए माइनस’ रेटिङ दिएको छ । यसले न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ।

घट्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति ? Read Previous

घट्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति ?

सानिमा मिडिल तमोर हाइड्रोपावरले माघ ४ देखि आइपीओ विक्री गर्ने Read Next

सानिमा मिडिल तमोर हाइड्रोपावरले माघ ४ देखि आइपीओ विक्री गर्ने