प्रभु र सेञ्चुरी बैंकको सम्पूर्ण सेवा पुस २६ गतेसम्म बन्द

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको सम्पूर्ण सेवा पुस २६ गतेसम्म बन्द हुने भएको छ ।

पुस २६ देखि एकीकृत कारोबार गर्न लागेको दुवै बैंकले डाटा माइग्रेशन प्रयोजनका लागि आज राति १० बजेदेखि २६ गते बिहान पौने १० बजेसम्म दुवै बैंकको सम्पूर्ण सेवा बन्द गर्ने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले आज एक सूचनामार्फत् प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार यही पुस २६ देखि गर्ने गरी तय भएको जनाएको हो । दुई बैंक एकआपसमा गाभिएपछि प्रभु बैंकका नामबाट एकीकृत कारोबार हुनेछ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९) को विनियम ११ को उप–विनियम (७) बमोजिम रहेको जनाएको छ ।

दुवै बैंकबीच एक बराबर एक अनुपातमा मर्ज हुने भएका हुन् । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीइओमा सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपाने बन्नेछन् ।

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ मा मर्जर सम्झौता भएको थियो ।

भुक्तानी प्रदायक कम्पनीले विदेशी लगानी ल्याउन पाउने, चुक्ता पूँजी बढ्यो Read Previous

भुक्तानी प्रदायक कम्पनीले विदेशी लगानी ल्याउन पाउने, चुक्ता पूँजी बढ्यो

अन्योलमा मोनो रेल, डीपीआर बारे काठमाडौं महानगर अनभिज्ञ Read Next

अन्योलमा मोनो रेल, डीपीआर बारे काठमाडौं महानगर अनभिज्ञ