अन्योलमा मोनो रेल, डीपीआर बारे काठमाडौं महानगर अनभिज्ञ

काठमाडौं । काठमाडौंको चक्रपथमा गुडाउने भनिएको मोनो रेल आयोजना अन्योलमा परेको छ । हाल चिनियाँ कम्पनी ‘सेन्ट्रल चाइना रेल वे सेन्टर’ (सीसीआरसी)ले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिरहे पनि सो आयोजना निर्माण हुने/नहुने अन्योलमा परेको हो ।

काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंमा मोनो रेल संचालन गर्ने योजना अघि सारेका थिए । हाल  डीपीआरको काम भइरहे पनि साे आयोजना निर्माण बारे महानगर आफैं अन्योलमा छ ।

मोनो रेल आयोजना अगाडि बढाउन बारे महानगर हालसम्म कुनै प्रक्रिया तथा निर्णय गरेको छैन । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर यस विषयमा आफूलाई केही जानकारी नभएको बताउँछन् । उनले चीनलाई डीपीआर बनाउन दिए पनि सो विषयमा काम कहाँ पुग्यो भन्ने जानकारी नभएको बताए ।

उनले उक्त रेल निर्माण गर्ने नगर्ने विषय समेत अन्योलमा रहेको बताए । उनका अनुसार यस विषयमा महानगरपालिकाका मेयर बालेन्द्र शाहले चासो नदेखाएका हुन् ।

‘चीनले डिपिआर गर्दै गरेको छ कि गरेको छैन थाहा छैन, यस विषयमा चिनियाँ टोलीसँग कुरा गर्नुपर्ने मेयर साहबले हो, अहिलेसम्म हामीसम्म कुनै निर्णय आएको छैन,’ मानन्धरले चाणक्य पोष्टसँग भने ।

मोनो रेल निर्माणका लागि १ खर्ब २० अर्ब रुपैयाँ हाराहारीमा खर्च लाग्ने प्रि–फिजिबिलिटी अध्ययनमा उल्लेख छ । मोनो रेलको डीपीआर निर्माण पछि लगानी कसले गर्ने भन्ने विषयमा अन्योलता सृजना भएको हो ।

चक्रपथमा २८.५ किलोमिटर लामो मोनोरेल निर्माणका लागि डीपीआर बनिरहेको छ । चक्रपथमा मोनो रेल चलाउन करिब ८० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । मोनो रेल कलंकीदेखि कोटेश्वर, चाबहिल, महारागञ्ज हुँदै पुनः कलंकीसम्म पुग्ने गरी सञ्चालन गरिने सम्भाव्य अध्ययनले देखाएको छ ।

काठमाडौं महानगरपालिकाका भौतिक शाखाका प्रमुख रामबहादुर थापाले मोनो रेलको डीपीआर निर्माण भएपछि पनि त्यसमा लगानी कसले गर्ने भन्ने विषयले यसमा ढिलाइ गरिरहेको बताए ।

‘मोनो रेल बनाउने क्रममा प्रि फिजिबिलिटी गर्ने क्रममै धेरै रकम खर्च भयो, डीपीआर बनेपछि पनि डीपीआर बनाइरहेको कम्पनीलाई मोनो रेल बनाउन दिने कि अर्कै लगानी खोज्ने भन्ने टुंगो लागेको छैन,’ उनले चाणक्य पोष्टसँग भने ।

उनले यति मात्र नभइ चक्रपथ विस्तारका क्रममा कलंकीदेखि चाबहिलसम्म सडक विस्तार गर्न तयारी भइरहे पनि त्यसको डीपीआर पूरा नभएकाले अर्को अन्योलता थपेको बताए । उक्त मोनो रेल चक्रपथमा गुडाउने भनेर डीपीआर तयार भइरहेकाले चक्रपथको विस्तारले थप समस्या सृजना गरेको हो ।

उनका अनुसार चक्रपथ विस्तार पछि मोनो रेल चक्रपथको बीचमा गुडाउने कि साइडबाट भनेर छलफल भइरहेको छ । ललितपुर र काठमाडौं महानगरपालिकाको समन्वयनमा सुुरू गरिएको मोनो रेल आयोजना रिङरोड विस्तारको पूर्ण डिजाइन पूरा नभएसम्म डीपीआर फाइनल हुन समस्या भइरहेको छ ।

यस्तै, लगानीको मोडालीटी अझै तयार हुन बाँकी रहेको छ । उनले अबको समयमा चक्रपथ विस्तारको डिजाइन पूरा नभएसम्म मोनो रेलको डीपीआर पूरा हुन समय लाग्ने बताए ।

‘यसमा ती वटा समस्या देखा परेको छ, चक्रपथ विस्तारको डिजाइन नबन्नु एक, दोस्रो लगानी मोडालिटी र तेस्रो लगानी कसले गर्ने भन्ने, यी कुरामा समाधान नभई यो आयोजना अघि बढ्न सक्दैन,’ शाखा प्रमुख थापाले भने ।

प्रारम्भिक अध्ययन अनुसार काठमाडौं उपत्यकामा मोनो रेल कलंकीदेखि कोटेश्वर, चाबहिल, महारागञ्ज हुँदै पुनः कलंकीसम्म पुग्ने गरी सञ्चालन गरिने सम्भाव्य अध्ययनले देखाएको छ ।

चक्रपथमा गुडाइने सो रेलले दैनिक एकदेखि डेढ लाख यात्रुलाई सेवा दिने छ । तीन वटा डिम्बासहितको मोनोरेलले प्रतिघण्टा १० हजार यात्रुलाई सेवा दिने अनुमान गरिएको छ । मोनो रेलले १४ वटा स्टेशनबाट यात्रुलाई सेवा दिनेछ ।

 

प्रभु र सेञ्चुरी बैंकको सम्पूर्ण सेवा पुस २६ गतेसम्म बन्द Read Previous

प्रभु र सेञ्चुरी बैंकको सम्पूर्ण सेवा पुस २६ गतेसम्म बन्द

५३ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप, सीडी रेसियो कति ? Read Next

५३ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप, सीडी रेसियो कति ?